पहिरो पन्छाएपछि सुदूरपश्चिमका प्रमुख राजमार्ग पुनः सञ्चालनमा
धनगढी। लगातारको वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध बनेका सुदूरपश्चिम प्रदेशका प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्।
पहिरो पन्छाएसँगै भीमदत्त राजमार्ग, पहलमानसिंह राजमार्ग, जयपृथ्वी राजमार्ग र दशरथ चन्द राजमार्गमा यातायात सेवा सुचारु भएको हो।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार डोजर प्रयोग गरेर सडकमा थुप्रिएको पहिरो हटाइएपछि सोमबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।
लगातारको वर्षाका कारण प्रदेशका मुख्य राजमार्गका साथै विभिन्न सहायक सडकखण्डहरू समेत अवरुद्ध बनेका थिए।तीन दिनदेखि जारी अविरल वर्षा आइतबार रातिदेखि रोकिएर मौसममा सुधार आएको छ। हाल यस क्षेत्रमा घाम लागेको छ।
भारी वर्षा भए पनि सरकारी निकायको पूर्वतयारी र सरोकारवालाहरूको सतर्कता एवं सहज समन्वयका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्