पहिरोले पुरिएर एक जनाको मृत्यु
बागलुङ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण तारा खोलामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको छ ।
शुक्रबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५, धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक प्रसाईँका अनुसार पहिरोले घरमा आंशिक क्षति पुर्याएको छ । पहिरोले रोका सुत्ने कोठा समेत पुरेको थियो ।
यसैबिच अविरल वर्षापछि आएको पहिरोले निसीखोलामा १२ वटा पशु पुरिएका छन् ।
जिल्लाको निसीखोला गाउँपालिका–२ उपल्लो बेङ्ग्रीमा एक गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पहिरोमा परी गोठभित्र रहेका ८ वटा बाख्रा, २ वटा भैँसी र २ वटा गोरु पुरिएको निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो ।
गोठ पूर्ण रूपमा क्षति भएकाले पुरिएका सबै पशुचौपायाको अवस्थाबारे तत्काल पूर्ण विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी निरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्