पहिरोले उत्तरी गोरखा जाने सडक बन्द, हिमपातले जनजीवन प्रभावित
गोरखा । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उत्तरी गोरखा जोड्ने बेनीघाट–आरुघाट–लार्के सडक पूर्णरूपमा अवरुद्ध भएको छ । धार्चे गाउँपालिका–३ अन्तर्गत तातोपानी, दोभान र कालोभीर क्षेत्रमा शुक्रबार बिहान करिब ११ बजे पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो । यो बाटो भएर धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका जाने गरिन्छ ।

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण तातोपानीदेखि जगतसम्म सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोसँगै माथिबाट ठुला ढुङ्गा खस्ने क्रम नरोकिएपछि उत्तरी गोरखाका अन्य ग्रामीण सडकसमेत प्रभावित भएका छन् ।
सडकमा ठूलो पहिरो खसेपछि गाउँपालिकाले उत्तरी गोरखा जाने यात्रु तथा सवारीसाधनलाई कम्तीमा तीन दिन अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ । पहिरो पन्छाउन आवश्यक पर्ने जेसीबीलगायतका उपकरण सम्बन्धित स्थानमा पु¥याउनसमेत लगातारको वर्षाका कारण समस्या भएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय युवा राज गोरखालीका अनुसार तातोपानी क्षेत्रमा पहिरोले सडक नै पुरिएपछि आवतजावत कठिन भएको छ । दोभान खोलामा आएको बाढीका कारण सवारीसाधन वारपार गर्न नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो । अण्डाडाँडा, दोभानखोला र कालोभीर क्षेत्रमा पनि पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएको उहाँको भनाइ छ ।
अण्डाडाँडामा बाढीले सडकको केही भाग बगाएको छ भने दोभान खोलामा पानीको बहाव बढेपछि आवतजावत जोखिमपूर्ण बनेको छ । मौसम पूर्वानुमानअनुसार आइतबारसम्म वर्षा हुने सम्भावना रहेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिन हुने गाउँपालिकाको आकलन छ । अवस्था सामान्य भए पनि सडक पूर्णरूपमा खुलाउन कम्तीमा एक साता लाग्न सक्ने जनाइएको छ ।
उत्तरी गोरखाका दर्जनौँ ग्रामीण सडक पहिरोका कारण प्रभावित भएपछि स्थानीयको दैनिक आवतजावतसँगै अत्यावश्यक खाद्यान्न तथा अन्य सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा स्थानीय होटल व्यवसायी तथा व्यापारीसमेत प्रभावित भएका छन् ।
मनास्लु क्षेत्र र लार्केपास जाने प्रमुख मार्गका रूपमा रहेको यो सडक अवरुद्ध भएपछि त्यस क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत असर पर्ने देखिएको छ । वर्षा रोकिएपछि पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभएको छ ।
अविरल वर्षातसँगै उत्तरी गोरखाको चुमनुब्रीको सामागाउँ, प्रोक, ल्हो, चुम्चेत, छेकम्पार, विही लगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घरबाट बाहिर निस्कन नसकिएको सामागाउँबाट स्थानीय मिङमार लामाले बताउनुभयो । मनास्लुको बेसक्याम्प तर्फका भागमा दुई मिटर सम्म हिमपात भएको छ । हाम्रो बस्तीमा एक मिटर हिमपात भइसकेको छ । हिमपात हुने क्रम रोकिएको छैन लामाले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्