अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन जिल्ला प्रशासन बागलुङको आग्रह
बागलुङ । मौसम पूर्वानुमान महाशाखाले अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको जनाएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही स्थानमा असोज ८ गतेदेखि ११ गतेसम्म अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको बुलेटिन जारी गरेपछि बागलुङ जिल्ला पनि जोखिममा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेर जिल्लामा विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सुरक्षा सचेतनाका लागि सूचना जारी गर्ने तथा सबै सुरक्षा निकायहरूले खोज तथा उद्धार सामग्रीसहित सुरक्षा जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।
जोखिमयुक्त बस्तीमा पूर्व सतर्कता अपनाउन सबै स्थानीय तहहरूसँग निरन्तर समन्वय र सहकार्य गर्ने, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराई सुरक्षित अवस्थामा रहन स्थानीय तहहरू र स्थानीय प्रहरी इकाई मार्फत अनुरोध गर्ने, भारी वर्षा हुने अनुमान गरिएका स्थानहरू तथा खोला किनारका बस्तीहरूमा सूचना प्रवाह गर्ने, साथै जोखिम बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन जिल्लास्थित स्थानीय तहहरूलाई अनुरोध गरिएको छ ।
बैठकले अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र एवम् एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने, स्थानीय तहलाई विपद् उद्धार सामग्री र सडक अवरोध हटाउने उपकरण (जे.सी.बी.÷एक्साभेटर) निर्माण व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्