पूर्वराष्ट्रपति भण्डारीद्वारा संविधान दिवसको शुभकामना
काठमाडौँ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशिता र समानताका मूल्यलाई आत्मसात् गरेको संविधानको मर्म र भावनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकलाई स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन सहज हुने बताउनुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय हितका विषयमा राजनीतिक दलबीच संवाद, समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ। उहाँले नयाँ पुस्ताका चाहना र आकाङ्क्षालाई प्राथमिकता दिँदै सबै उमेर समूहका नागरिकको अधिकार, सम्मान र सुरक्षालाई समान महत्वका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ।
संविधान दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यको भावना बलियो बनाउँदै शान्त, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने उहाँले कामना गर्नुभएको छ।






प्रतिक्रिया राख्नुहोस्