गाउँमै चौबीसै घण्टा स्वास्थ्य सेवा, स्थानीयलाई राहत
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा राप्तीसोनारी अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमै चौबीसै घण्टा स्वास्थ्य सेवा पाउन थालेका छन्।
यसअघि सामान्य बिरामी पर्दासमेत कोहलपुर र नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो। विशेषगरी रातको समयमा सवारीसाधन खोज्नुपर्ने, लामो दूरी पार गर्नुपर्ने र समयमै उपचार नपाउने जोखिम स्थानीयले भोग्दै आएका थिए। प्रसूति सेवाका लागि महिलाले समेत घण्टौँ यात्रा गर्नुपर्ने अवस्था थियो।
भदौ १ गतेदेखि सञ्चालनमा आएको अस्पतालले हाल एक जना चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीबाट आकस्मिक र नियमित उपचार सेवा दिइरहेको छ।
अस्पतालमा सामान्य उपचार, आकस्मिक सेवा, प्रसूति तथा बाल स्वास्थ्य सेवामा प्राथमिकता दिइएको छ। गाउँमै अस्पताल सञ्चालन भएपछि स्थानीयवासीमा तत्काल उपचार पाउने आशा बढेको छ।
गाउँपालिकाका अनुसार आगामी असोजदेखि प्रसूतिको शल्यक्रियासहित केही अन्य शल्यक्रिया सेवा विस्तार गर्ने तयारी भइरहेको छ।
यस्तै, विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउन भेरी अस्पतालसँग सहकार्य गर्ने तयारी गरिएको छ। सहकार्यअन्तर्गत भेरी अस्पतालका विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा राप्तीसोनारी अस्पतालमा ल्याएर सेवा दिने योजना छ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले अस्पताल सञ्चालन गर्नु पहिलो चरण भएकाले अब सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकता दिइने बताउनुभएको छ। जनशक्ति, उपकरण र आवश्यक पूर्वाधार क्रमशः थप गर्दै स्थानीयलाई भरपर्दो स्वास्थ्य सेवा दिने उहाँको भनाइ छ।
प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अस्पताललाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि र उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइएको बताउनुभएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्ष मिनराज खड्काले अस्पताललाई नाम मात्रको स्वास्थ्य संस्था नभई प्रभावकारी सेवा दिने संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।
ग्रामीण क्षेत्रमा सर्पदंश, दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूतिको समयमा देखिने जटिल अवस्थामा समयमै उपचार पाउनु महत्वपूर्ण हुन्छ। त्यसैले राप्तीसोनारीमा चौबीसै घण्टा अस्पताल सेवा सुरु हुनु स्थानीय स्वास्थ्य सेवाको पहुँच विस्तारतर्फ महत्वपूर्ण सुरुवात मानिएको छ।
अस्पतालमा आवश्यक जनशक्ति, औषधि र उपकरणको नियमित उपलब्धता तथा विशेषज्ञ सेवा प्रभावकारी बनाउन सके स्थानीयवासीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्