तपाईँ सुन्दै हुनुहुन्छः

मोदी र पुटिनबीच भेट : व्यापार, ऊर्जा र रक्षाबारे छलफल

नयाँ दिल्ली । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ । 

उहाँहरूबीच व्यापार, ऊर्जा र रक्षाबारे कुराकानी गर्नुभएको छ । 

राष्ट्रपति पुटिन भोलि सुरु हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउनुभएको हो । 

मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय टेलिभिजनमा दुवै नेता नयाँ दिल्लीको सम्मेलन केन्द्रमा हाँस्दै र एकअर्कालाई पिठ्यूँमा धाप मारेको र अँगालो हालेको तस्वीर सार्वजनिक भएका छन् । 

अमेरिका–इरान युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटमा भारतले रुसतर्फ ध्यान दिएको छ । युक्रेनमा रुसको युद्ध र वासिङ्टनलगायत पश्चिमी देशहरूको दबाबका बाबजुद पनि भारतले रुसी तेल किनिरहेको छ ।

नेता पुटिन सन् २०२५ डिसेम्बरमा भारत आएका थिए । यस महिनाको सुरुमा किर्गिस्तानको बिस्केकमा भएको शाङ्घाई सहयोग सङ्गठनको बैठकमा पनि दुवै नेता भेटेका थिए। त्यहाँ भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई ‘अनन्त युद्धबाट युद्धको अन्त्यतिर अघि बढ्न’ आग्रह गर्नुभएको थियो । 

मध्यपूर्व युद्ध सुरु भएपछिका हप्ताहरूमा मार्चमा भारतीय रिफाइनरीहरूले रुसबाट कच्चा तेलको आयात झण्डै दोब्बर बनाएका थिए । प्रतिबन्धमा अस्थायी अमेरिकी छूटले यसमा सहयोग पुगेको थियो ।

व्यापारिक सूचना कम्पनी केप्लरका अनुसार जुनमा आयात बढेर दैनिक २७ लाख १० हजार ब्यारेल पुगेको थियो भने जुलाईमा यो २८ लाख १० हजार ब्यारेलको उच्चस्तरमा पुगेको थियो । अगस्टमा भने घटेर दैनिक २० लाख ७० हजार ब्यारेल भए पनि अझै महत्वपूर्ण मात्रामा नै छ ।

भारतीय सरकारी तथ्याङ्कअनुसार सन् २०२५र२६ मा दुई देशबीचको वस्तु व्यापार ५९.९ अर्ब डलर पुगेको थियो । भारतले ४.४९ अर्ब डलर निर्यात गर्दा ५५.३७ अर्ब डलरको आयात गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button