बाँकेमा कुष्ठरोगको जोखिम उच्च, तीन वर्षमा नयाँ बिरामी बढ्दो
बाँके ।बाँकेमा कुष्ठरोगको जोखिम अझै उच्च रहेको पाइएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा जानकी गाउँपालिका–३ मानपुरस्थित साइनिङ अस्पतालमा परीक्षणका क्रममा एक सय ९३ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्।
साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार पहिचान भएका नयाँ बिरामीमध्ये ८१ जना बाँकेका हुन्। बाँकेसँगै बर्दिया तथा विभिन्न पहाडी जिल्लाबाट स्वास्थ्य परीक्षणका लागि आएका व्यक्तिमा समेत कुष्ठरोगका जीवाणु फेला परेको अस्पतालले जनाएको छ।
अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक सय ७४ जना र २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान भएका थिए। पछिल्ला तीन आर्थिक वर्षमा नयाँ बिरामीको संख्या निरन्तर बढ्दै गएको देखिएको छ।
अस्पताल प्रमुख थारुले बाँकेमा कुष्ठरोगको प्रकोप अपेक्षाअनुसार घट्न नसकेको बताउनुभएको छ। उहाँका अनुसार लुम्बिनी प्रदेशमै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको जिल्लाका रूपमा देखिएको छ।
साइनिङ अस्पतालले कुष्ठरोगको समयमै पहिचान र उपचारसँगै रोगका कारण हुने अपाङ्गता रोकथामका लागि सम्पर्क परीक्षण, समुदायस्तरीय स्वास्थ्य शिविर, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम, जनचेतना कार्यक्रम तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्दै आएको छ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने लाञ्छना, विभेद र गलत धारणाको अन्त्य गर्न व्यापक जनचेतना आवश्यक रहेको बताउनुभएको छ।
यसैबीच, सरकारी स्वास्थ्य संस्थाले कुष्ठरोगका नयाँ बिरामीको सक्रिय खोज तथा पहिचानका लागि पर्याप्त स्रोत, साधन र लक्षित कार्यक्रम पाउन नसकेको सरोकारवालाले बताएका छन्। जसका कारण साइनिङ अस्पताल, आइएनएफलगायत गैरसरकारी संस्थाको सहयोग लिनुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीको भनाइ छ।
कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे नामक जीवाणुबाट हुने संक्रामक रोग हो। समयमै पहिचान गरी बहुऔषधि उपचार सुरु गरेमा कुष्ठरोग निको हुने भएकाले रोग लुकाउने वा बिरामीलाई सामाजिक बहिष्कार गर्नेभन्दा समयमै स्वास्थ्य संस्थामा पुर्याउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।







प्रतिक्रिया राख्नुहोस्