राष्ट्रियसभा बैठक: दैनिक उपभोग्य वस्तु र ग्यास सहज बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले दैनिक उपभोग्य वस्तु र खाना पकाउने ग्यास सहज रुपमा उपलब्ध हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले गएको हप्ता परेको अविरल बर्षाले धेरै जिल्लाको जनजीवन प्रभावित बनाएकोले प्रभावितका लागि उचित व्यवस्थापन र जोखिमयुक्त बस्तीहरूको पूर्व सुरक्षाका लागि आवश्यक कार्य गर्न माग गर्नुभयो ।
यस्तै सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिइनुको घटनाको कारण र कानुनी आधारबारे सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने पनि माग गर्नुभयो ।
सांसदहरुले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन,कर्णालीका सडक जोखिमपूर्ण रहेकाले दुर्घटना न्यूनीकरणका लागि सडक तथा पुल निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै मोबाइल बैङ्किङलाई सुरक्षित बनाउन तथा बैङ्किङ प्रणालीमार्फत नागरिकको सम्पत्तिको सुरक्षामा जिम्मेवार बन्न लगायतका समसामयिक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय सभा बैठकमा अहिले सांसदहरुले धारणा राख्नेक्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्