मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकार, सरोकार भएका निकाय तथा सबै नागरिकको प्रयासले देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त गर्नुभएको छ । आज सप्तरङ्गी इन्द्रेणी बौद्ध समाजले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग लिँदै उहाँले आपसी सहकार्य, समन्वय र हातेमालोले सङ्कट सामना गर्न सहयोग पुग्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले देश सङ्कटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद पनि दिनुभयो । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर प्रभावित भएका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सप्तरङ्गी इन्द्रेणी बौद्ध समाज स्वयम्भूले आर्थिक सहयोग गरेको छ । समाजका पदाधिकारीले आज प्रधानमन्त्री राहत कोषमा रु दुई लाख एक हजार १०१ आर्थिक सहयोग गर्नुभएको हो ।
समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा बौद्ध लामाहरूले अहिलेको महाविपत्तिपछि सिर्जित सङ्कटबाट देशलाई पार लगाउन मन्त्रोच्चारणसहित आशीर्वाद दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्