तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण

इलाम । ‘तितिक्षा’ महाकाव्य आज इलाममा लोकार्पण गरिएको छ । 

कवि तथा साहित्यकार प्रतिभा पौडेलको नयाँ महाकाव्य  ‘तितिक्षा’ आज लोकार्पण गरिएको हो।  

इलाम नगरपालिका अन्तर्गतको साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको छ । पौडेलको सातौँ कृतिका रूपमा प्रकाशित महाकाव्य ‘तितिक्षा’बारे साहित्यकर्मी इन्द्रनारायण सुबेदी, अन्वेष थुलुङ, सोम निरौला, टीका घिमिरे लगायतले समीक्षा गर्नुभएकाे छ।

पौडेल लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँका विभिन्न साहित्यिक विधाका कृतिहरू प्रकाशित भइसकेका छन्।

नगरप्रमुख थापाले साहित्य क्षेत्रमा महिलाको उपस्थिति तुलनात्मक रूपमा कम देखिने अवस्थामा पौडेलले निरन्तर साहित्य सिर्जना गर्दै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो। विशेषगरी महाकाव्यजस्तो बृहत् साहित्यिक विधामा प्रवेश गरी कृति प्रस्तुत गर्नु प्रशंसनीय रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागीले स्थानीय स्रष्टाले आफ्नै भूगोलमा बसेर निरन्तर साहित्य सिर्जना गर्नु इलामको साहित्यिक पहिचानका लागि सकारात्मक पक्ष भएको बताएका छन् । महाकाव्यजस्तो बृहत् विधामा महिला स्रष्टाको सक्रियता बढ्नुले नेपाली साहित्यमा महिलाको सिर्जनात्मक सहभागितालाई समेत थप बल पुग्ने अपेक्षा गरिएको छ। 

पौडेलले समाजमा भइरहेको बेथिति, महिलाले भोग्नुपरेका दुःख, कष्ट , सङ्घर्षले नै महाकाव्य लेखन गरेको बताउनुभयो । महाकाव्य लेखनको लागि लामो समय अध्ययन गरेपछि मात्रै सृजना गरिएको उहाँको भनाई छ । 

साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि विमल वैद्य लगायतले शुभकामना राख्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार, स्रष्टा, कलाकर्मी तथा साहित्य प्रेमीहरूको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button