प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षीबीच टेलिफोन वार्ता
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ ।
आज बिहान भएको उक्त टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकहरुले देखाउनुभएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो । साथै, उहाँले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । खासगरी अष्ट्रेलियाले विशेषज्ञसहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएकामा तथा आर्थिक सहयोग गरेकामा आभार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री शाहले नेपालमा बाढीका कारण बेपत्ता हुनुभएका अष्ट्रेलियाली नागरिकहरूको पनि खोजीकार्य तीव्र पारिरहेको बताउनुभयो । उहाँले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यो क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनामा अस्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताउनुभयो ।
संवादका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्