तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी

जनकपुरधाम। जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनका विषयमा नेपाल र भारतबीच छलफल भएको छ ।

नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच यस विषयमा बिहीबार पहिलो चरणको छलफल भएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भारतको जयनगरस्थित रेल्वे स्टेशनको विश्रामगृहमा भएको बैठकमा रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भएको थियो ।

उहाँहरुबीच रेल लिङ्क, सिग्नलिङ प्रणाली, अध्यागमन, भन्सार चेकपोस्ट, यात्रु सुविधा र सुरक्षा व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।

नेपालतर्फ नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा उहाँहरुबीच सैद्धान्तिक सहमति भएको छ ।

बैठकमा नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको सहभागिता रहेको प्रवन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो ।  बैठकपछि दुवै देशका अधिकारीलेजयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  नेपालकी विभूति सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको छ ।

  रेल सेवा सञ्चालनपछि नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवद्र्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन समेत सहयोग पुग्नेछ । हाल नेपालको बिजलपुराबाट जनकपुरधाम हुँदै भारतको जयनगरसम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button