तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूली–३ ए सुरुङको मुख आंशिक खुल्यो, उद्धार टोली २० मिटरभित्र प्रवेश

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

बाढीका कारण आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू पुरिएपछि सुरुङभित्र मानिस फसेको हुनसक्ने आशङ्कामा नेपाली सेनाको नेतृत्वमा खोजी तथा उद्धार भइरहेको हो।

उद्धारमा चिनियाँ टोलीसहित ९३ जना प्राविधिक तथा सुरक्षाकर्मी परिचालन भएका छन्। टोलीले पाँच वटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरलगायतका उपकरण प्रयोग गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएका फलामे संरचना तथा ठूला ढुङ्गासहितको डेब्रिस थुप्रिएको थियो। रातदिन निरन्तर प्रयासपछि डेब्रिस हटाएर माथिबाट करिब तीन फिट सुरुङको मुख खोलिएको छ।

सुरुङको मुख केही खुलेसँगै उद्धार टोली करिब १५ देखि २० मिटरभित्र प्रवेश गरिसकेको छ। तर एक्स्क्याभेटर तथा अन्य मेसिन सुरुङभित्र लैजानका लागि मुख पूर्णरूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ। ठूला ढुङ्गा हटाउन थप सात वटा बोल्डर ब्लास्टिङका लागि तयारी गरिएको छ।

करिब १७० मिटर लामो उक्त सुरुङ माटो र लेदोले भरिएको छ। सुरुङभित्रको डेब्रिस हटाउँदै अघि बढेपछि मात्रै पावर हाउससहितका अन्य मुख्य संरचनामा पुग्न सकिने उद्धार टोलीले जनाएको छ।

उद्धार टोलीले सुरुङभित्र कोही फसेको अवस्था छ कि छैन भन्नेबारे खोजीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button