सिक्किमबाट भोटेकोशी बाढी प्रभावितका लागि राहत टोली नेपाल प्रस्थान

सिक्किम । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)ले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न राहत तथा उद्धार टोली नेपाल पठाउनुभएको छ।
सिक्किम क्रान्तिकारी मोर्चाको प्रतिनिधिमण्डलमा पाँच विशेषज्ञ चिकित्सक, उद्धार स्वयंसेवक र करिब ३०/३२ जना कर्मचारी सहभागी छन्। टोलीले बाढी प्रभावितलाई चिकित्सा सहायता, उद्धार सहयोग र आवश्यक राहत सामग्री उपलब्ध गराउने मुख्यमन्त्री तामाङले बताउनु भयाे।
टोलीले औषधि, कपडा लगायतका अत्यावश्यक सामग्री बोकेका तीन ट्रकसहित नेपाल प्रस्थान गरेको हो। ती सामग्री बाढी प्रभावित समुदायसम्म पुर्याइने बताइएको छ।
मुख्यमन्त्री तामाङले टोलीलाई झण्डा देखाएर बिदाइ गर्दै विपत्तिको यस घडीमा नेपालका बाढी प्रभावितप्रति सिक्किमको ऐक्यबद्धता व्यक्त गर्नुभयो।
उहाँले राहत तथा उद्धार अभियानमा सहभागी सिक्किम क्रान्तिकारी मोर्चा, चिकित्सक, उद्धार स्वयंसेवक र अन्य सबैको प्रयासको प्रशंसा गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्