रौतहट : ९ दिनमा झुन्डिएर पाँच जनाको मृत्यु
रौतहट । रौतहटमा पछिल्लो नौ दिनको अवधिमा झुन्डिएको अवस्थामा पाँच जना मृत फेला परेका छन् । भदौ ६ देखि १५ गतेसम्म भएका छुट्टाछुट्टै घटनामा एक बालिकासहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सोमबार बिहान गरुडा नगरपालिका–७ पिपरियामा मामाघरमा बस्दै आएकी १४ वर्षीया मिशिला पटेल आफ्नै सुत्ने कोठामा बाँसको कोरोमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । बिहान सवा ९ बजे घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा अपराध अनुसन्धानसहितको टोली घटनास्थल पुगेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा सूचना अधिकारी वसन्त गौतमले जानकारी दिनुभयो ।
आइतबार दिउँसो परोहा नगरपालिका–४ पोखरियाकी १६ वर्षीया सुबुन तारा आफ्नै सुत्ने कोठामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । आफन्तले ढोका फुटाएर तल झारे पनि उहाँको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धानसहितको टोली खटिएको थियो ।
भदौ ८ गते परोहा नगरपालिका–३ तेजापाकडकी करिब १७ वर्षीया अंगुरी खातुन माइती घरको सुत्ने कोठामा बाँसको बलोमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान अघि बढाएको थियो । उहाँका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ ।
सोही दिन बौधिमाई नगरपालिका–२ इनरुवाकी करिब २८ वर्षीया मञ्जु देवी आफ्नै घरको आँगनमा कपडा सुकाउने डोरीमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । श्रीमान्ले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उहाँ तीन महिनाको गर्भवती रहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै शव पोस्टमार्टमका लागि मलङ्गवा अस्पताल पठाएको थियो ।
त्यसअघि भदौ ६ गते देवाही गोनाही नगरपालिका–५ टिकुलियामा मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आउनुभएका करिब ३५ वर्षीय सुमित पटेल वर्कसपको छानामा रहेको काठको बलोमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पर्नुभएको थियो । श्रीमतीले देखेपछि पासो काटेर हेर्दा उहाँको मृत्यु भइसकेको अवस्थामा फेला परेको र घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।
लगातारका यस्ता घटनाले आत्महत्या न्यूनीकरणसँगै मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक सहयोगका विषयमा स्थानीय तह, परिवार तथा समुदाय थप संवेदनशील बन्नुपर्ने आवश्यकता देखाएको छ ।








प्रतिक्रिया राख्नुहोस्