हुलाक सेवा कुरियरका रूपमा विस्तार, बैतडीका १७ जनाले पाए घरमै राहदानी
बैतडी। सरकारले हुलाक सेवालाई चिठीपत्र आदान-प्रदानमा मात्र सीमित नराखी कुरियर तथा डेलिभरी सेवाका रूपमा विस्तार गर्न थालेको छ। सरकारी कागजात तथा महत्त्वपूर्ण सामग्री सेवाग्राहीको घरदैलोमै पुर्याउने उद्देश्यले हुलाकको प्रयोग बढाउन थालिएको हो।

यसै क्रममा बैतडीका १७ जनाले हुलाकमार्फत घरमै राहदानी (पासपोर्ट) प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीबाट जारी भएका राहदानी हुलाक कार्यालयमार्फत सम्बन्धित सेवाग्राहीको घर तथा तोकिएको स्थानसम्म पठाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयाे।
राहदानी लिनकै लागि पुनः जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेपछि सेवाग्राहीको समय र खर्च बचत भएको छ। विशेषगरी जिल्लाका दुर्गम तथा टाढाका क्षेत्रका नागरिकका लागि यो सेवा निकै उपयोगी साबित भएको छ।
सरकारले हुलाक सेवालाई आधुनिक बनाउँदै कुरियर, डेलिभरी तथा सरकारी कागजात वितरणको भरपर्दो माध्यमका रूपमा विकास गर्ने नीति अघि सारेको छ। यसलाई प्रभावकारी रूपमा विस्तार गर्न सके हुलाक सेवा नागरिकका लागि थप सहज र उपयोगी बन्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्