तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी: सुरुङमा फसेकाको उद्धारका लागि भारत र चीनको टोली परिचालन

काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका बिद्युत् उत्पादन गृहका सुरुङमा फसेका मानिसहरूको उद्धारका लागि सरकारको समन्वयमा मित्र राष्ट्रहरू भारत र चीनको टनेल रेस्क्यु टिम परिचालन गरिएको छ ।

नेपाली सेनाले आफ्नै स्रोत र साधनबाट सुरुङमा फसेका नागरिकहरूको खोज तथा उद्धारकार्य जारी राखे पनि मुख थुनिएका सुरुङहरूमा फसेका जीवित नागरिकहरूको उद्धार र मृतकहरूको शव पहिचानका लागि डिएनए परीक्षण तथा शव गृह व्यवस्थापनका लागि भारत र चीनको सहयोग लिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि भारत, चीन लगायतका देशहरू तथा विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय र संस्थाहरूबाट सहयोग प्राप्त भइरहेको जानकारी परराष्ट्र मन्त्रालयका सह सचिव एवं प्रवक्ता पौडेलले दिनुभयो ।

अर्थ मन्त्रालयका अनुसार भारत सरकारबाट हालसम्म तीन चरणमा ५७ दशमलव ५ टन मानवीय सहायता तथा औषधि प्राप्त भएको छ भने चीन सरकारले ३० वटा बेलीब्रिज र दुई हजार शव व्यवस्थापनका लागि एयर टाइट ब्याग पनि सहयोग गर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताका अनुसार, भोटेकोशी नदीको बाढीमा परेका विभिन्न देशका १ सय २० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिसकिएको छ तर अझै पनि पाँच सयको हाराहारीमा विदेशी नागरिक हराइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button