उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार, खोज तथा राहतका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो ।
विपद्को यस क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभयो ।
बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बैठकले भोटेकोशी बाढीपछि जोखिममा परेकाहरूको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको जानकारी दिनुभयो ।
बैठकले उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको र हालसम्म आठ वटा हेलिकप्टर परिचालन गरिएको जानकारी प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो ।
घाइते तथा बिरामीको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको र तत्काल उद्धारका लागि धुन्चे, त्रिशूलीलगायत क्षेत्रमा रहेका हेलिप्याड प्रयोग गर्ने निर्णय भएको पनि नेता आङदेम्बेले जानकारी दिनुभयो ।
बाढीबाट भएको धनजनको क्षतिको यकिन विवरण सार्वजनिक हुन बाँकी रहे पनि तत्काल उद्धार गर्नुपर्ने अवस्था भएकाले सरकारले कुनै हिचकिचाहट नगरीकन अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयाो ।
कुन–कुन मन्त्रालयलाई कसरी क्रियाशील गर्ने र आवश्यक रकमको व्यवस्था कहाँबाट गर्ने भन्ने विषयमा पक्ष–प्रतिपक्ष नभनी सबै जनताको साथमा उभिनुपर्नेमा नेता आङ्देम्बेले जोड दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्