सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कात्तिक १४ देखि २० गतेसम्म हुने छ ।

सदरमुकाम खाँदबारीमा आयोजक एडभान्स क्लब मानेभञ्याङले आज पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिताबारे जानकारी दिएको हो । ‘सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ नाराका साथ सुरु हुने सो प्रतियोगिताका खेल मानेभञ्ज्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा खेलाइने छन् ।
एडभान्स क्लबले सञ्चालन गर्दै आएको जिल्ला स्तरीय अरुण कपलाई २०६४ सालदेखि परिमार्जन गर्दै अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताका रूपमा निरन्तरता दिँदै आएको थियो । उक्त प्रतियोगितालाई यस वर्ष थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउँदै सङ्खुवासभा गोल्ड कप नामकरण गरिएको क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो ।
प्रतियोगितामा सङ्खुवासभाका चार ‘ए’ डिभिजन क्लब, राष्ट्रिय ‘ए’ डिभिजन क्लब तथा कोशी प्रदेशका विभिन्न जिल्लाका ‘ए’ डिभिजन क्लब गरी आठ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही रु सात हजार पुरस्कार प्रदान गरिनेछ ।







प्रतिक्रिया राख्नुहोस्