तपाईँ सुन्दै हुनुहुन्छः

चरिकोटको नेवार समुदाय र लाखेनाच

दोलखा।दोलखा सदरमुकाम चरिकोटमा यस वर्षको लाखेनाच सुरु भएको छ। चरिकोटमा गठेमङ्गल (घण्टाकर्ण) को पर्सिपल्ट साउन २८ गतेदेखि लाखेनाच प्रदर्शन सुरु भएको हो। कृष्ण जन्माष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले सुदर्शन चक्र प्रहार गरी लाखेलाई वध गरेपछि लाखेनाच समापन हुने आयोजक लालिगुँरास युवा क्लब चरिकोटका सचिव मनकुमार (बिपिन) श्रेष्ठले बताउनुभयो।

चरिकोटमा लाखेनाच प्रदर्शन सुरु गर्नुअघि गठेमङ्गलको दिन राति नाट्यश्वरीको पूजा गरी नेवार समुदाय र पाहुनाहरू भेला भएर प्रसाद खाने प्रचलन छ। पूजा सम्पन्न भएपछि परालको राक्षस बनाएर बाजागाजासहित बजार परिक्रमा गराउने र चोकमा ल्याएर उक्त परालको राक्षस जलाउने गरिन्छ। घण्टाकर्ण राक्षसले बालबालिकालाई दूध दिने भएकाले उसलाई सबैका अगाडि जलाउने गरिएको किंवदन्ती रहेको स्थानीय बताउँछन्।

कंसले कृष्णलाई मार्न पुतनालाई पठाएको तर कृष्णले उल्टै पुतनालाई वध गरेको पौराणिक कथामा आधारित भएर चरिकोटमा २०१५/१६ सालदेखि लाखेनाच प्रदर्शन हुँदै आएको चरिकोटका ज्येष्ठ समाजसेवी तथा चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सांस्कृतिक सहर दोलखाको प्रभावबाट चरिकोटमा लाखेनाच सुरु गरिएको हो।

लाखेलाई पुतनाको प्रतीकका रूपमा लिइने यो नाच गठेमङ्गलको दिन नाट्यश्वरीको पूजा गरेपछि मुख्य बजार क्षेत्रमा प्रदर्शन गरिन्छ। यस वर्षको लाखेनाचका लागि लालिगुँरास युवा क्लबले प्रदर्शन तालिकासमेत सार्वजनिक गरेको क्लबका अध्यक्ष प्रविण श्रेष्ठले बताउनुभयो। लाखेनाच प्रदर्शन हुने दिन बजार क्षेत्र, विशेषगरी सातदोबाटो चोकमा सयौँ मानिस भेला हुने गरेका छन्।

स्थानीय ज्येष्ठ नागरिकका अनुसार सदरमुकाम चरिकोटमा झन्डै डेढ सय वर्षदेखि नेवार समुदायको बसोबास रहँदै आएको छ। लिखित दस्तावेज नभए पनि भक्तपुरको सुकुलढोकाबाट काभ्रेपलाञ्चोकको नाङ्ग्रे हुँदै पञ्चवीर श्रेष्ठ र कृष्णवीर श्रेष्ठ दुई दाजुभाइ हालको पुरानो बजार क्षेत्रमा आएर बसोबास गरेको इतिहास स्थानीय रूपमा प्रचलित छ।

त्यसपछि भक्तपुरकै दत्तात्रयबाट व्यापारका सिलसिलामा हरिकृष्ण श्रेष्ठ पनि चरिकोट आएपछि पुरानो बजार क्षेत्रमा नेवार समुदायको बसोबास विस्तार हुँदै गएको बताइन्छ। कानुनी काम र व्यापारका क्रममा काभ्रेपलाञ्चोकबाट रामेछापको चिसापानी हुँदै ठाकुरदास श्रेष्ठ र धर्मदास श्रेष्ठ पनि चरिकोट आएको स्थानीय इतिहासमा उल्लेख छ।

चरिकोट बजारमा नेवार समुदायको बसोबास बढ्दै गएपछि तत्कालीन संस्कृतिप्रेमी युवाहरू नारायणकृष्ण श्रेष्ठ, हिरालाल श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, देवीबहादुर श्रेष्ठ, अमृतबहादुर श्रेष्ठ, फत्तबहादुर श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, नारायणलाल श्रेष्ठ, अर्जुनबहादुर श्रेष्ठ र टंक मास्केलगायतको अगुवाइ तथा रत्नबहादुर श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ र रत्ननारायण श्रेष्ठलगायत अभिभावकको प्रेरणामा लाखेनाच, हिलेजात्रा र मारुनी नाचजस्ता सांस्कृतिक पर्व मनाउन थालिएको ज्येष्ठ समाजसेवी रामदास श्रेष्ठ बताउनुहुन्छ।

चरिकोटमा लाखेनाचसँगै कृष्णलीलासम्बन्धी नाटक प्रदर्शन तथा अन्य सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन दोलखा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष दानबहादुर श्रेष्ठको समेत महत्वपूर्ण योगदान रहेको स्थानीय बताउँछन्। यी सांस्कृतिक परम्पराले चरिकोटको नेवार समुदायको पहिचान र मौलिक संस्कृतिलाई पुस्तौँदेखि जीवन्त राख्दै आएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button