तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

मकवानपुर।बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो।

विश्वासको मतका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६३ सांसदको समर्थनमा थापामगर गत भदौ ४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा हाल नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

मुख्यमन्त्री थापामगरले सत्ता साझेदार दलहरूको समर्थनमा बहुमत जुटाउने तयारी गर्नुभएको छ। नेकपा एमाले र नेकपाले आफ्ना सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्।

सरकारलाई समर्थन गरेको राप्रपामा भने विश्वासको मतलाई लिएर मतभेद देखिएको छ। राप्रपाका सांसदहरूको मतदानको निर्णयले मुख्यमन्त्री थापामगरले विश्वासको मत पाउने वा नपाउने विषयमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button