कोशी अस्पतालमा अत्याधुनिक सुविधायुक्त भवन निर्माण हुँदै
विराटनगर । सबै प्रकारको सेवा सहज बनाउन विराटनगरस्थित कोशी अस्पताल परिसरमा अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेका छन् ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले अस्पताल परिसरमा दुई अर्ब ४६ करोडको लागतमा पाँच सय बेडको मेडिकल भवन तथा ३८ करोड ८७ लाख रुपैयाँ लागतमा २ सय ५९ बेडको आइसियु तथा सर्जिकल भवन निर्माण गर्दै आएको छ ।
कोशी अस्पतालको अगाडीको भागमा बन्दै गरेको आइसियु तथा सर्जिकल भवन निमार्णका लागि रमणभुमि कन्ट्रक्सन विराटनगर सँग २०७८ सालको असार महिनामा निर्माण सम्झौता गरेको थियो । कन्ट्रक्सनसँग भएको सम्झौता अनुसार निर्माण सम्झौताको म्याद गत असार महिनाको २५ गते सकिएपछि त्यसको म्याद थप प्रक्रियामा रहेको छ । भवनको ६४ प्रतिशत वित्तीय प्रगति र भवनको भौतिक प्रगति ७० प्रतिशत रहेको छ ।
त्यस्तै मेडिकल भवन निमार्णका लागि केसी कन्ट्रक्सन काठमाडौँसँग २०७९ साल पुषमा निर्माण सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी असार सम्ममा भवनको निमार्णको काम सम्पन्न गर्नुपर्ने हुन्छ । सम्झौता अनुसार काम सम्पन्न नभएपछि भवन निमार्णका लागि दुवै निर्माण कम्पनी सँगको निर्माण सम्झौताको म्याद एक वर्ष थप गरिएको छ ।
ओपिडीमा दैनिक दुई हजारसम्म बिरामी आउने सो अस्पतालको कुल बेड क्षमता साँढे तीन सयको रहे पनि ठाउँको अभावले अहिले ३ सय बेडबाट सेवा प्रवाह भइरहेको छ । नयाँ भवनबाट सेवा सुचारु भएपछि अस्पतालको कुल बेड सङ्ख्या साँढे सात सय पुग्ने छ ।







प्रतिक्रिया राख्नुहोस्