तपाईँ सुन्दै हुनुहुन्छः

कानुनका विद्यार्थीको क्षमता विकासका लागि‘मुटकोर्ट’ प्रतियोगिता आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले अदालती अभ्यास प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा प्रदेश बजेट विनियोजन गरेको बताउनुभएको छ ।

कानुनका विद्यार्थीलाई व्यावहारिक ज्ञान र अदालती बहसको अनुभव दिने उद्देश्यले ब्राईट भिजन ल कलेज विराटनगरद्वारा आयोजित ‘मुटकोर्ट’ (नमूना अदालत) प्रतियोगिताको आज समापन कार्यक्रममा उहाँले ल कलेजहरूले गर्ने नमुना अदालत सम्बन्धी यस्ता प्रतियोगिताले कानुनका विद्यार्थीलाई विशेष ज्ञान दिने बताउनुभयो ।

विद्यार्थीले गरेको प्रस्तुतिको सराहना गर्नुहुँदै उहाँले मुटकोर्ट प्रतियोगिता हुन आवश्यक रहेको र यसले कानुनका विद्यार्थीलाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउने उहाँको भनाई थियो । 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री गीता तिम्सीनाले ब्राईट भिजन कलेजले कानुनका दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कानुनका विद्यार्थीको क्षमता विकासमा प्रदेश सरकारले सरकारी र निजी कलेजका उत्पादन भनेर विभेद नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ब्राईट भिजन कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चूडामणि आचार्यले मुटकोर्टले अदालतको अनुशासन कायम गर्न मद्दत गर्ने बताउनुभयो । 

सो कलेजले गत साउन ३० गतेदेखि शुरु भएको प्रतियोगिता दोस्रो संस्करण आज सम्पन्न भएको छ । आज सम्पन्न फाइनल प्रतियोगितामा विद्यार्थीले सङ्गठित अपराध सम्बन्धी काल्पनिक मुद्दामा बहस गरेका थिए । प्रतियोगिताको निर्णायकमा उच्च अदालत विराटनगरका न्यायाधिशहरु महेन्द्रनाथ उपाध्याय, प्रकाश खरेल र रमादेवी पराजुली हुनुहुन्थ्यो । 

प्रतियोगिताको उपाधि बीभीएलसी ८१७ समूहले जितेको छ । सो समूहका रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतम प्रथम भएका छन् । उपाधि जित्ने समूहले नगद १२ हजार सहित ट्रफी प्राप्त गरेको छ । 

बीभीएलसी ८०८ का उन्नति पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउतको समूह दोस्रो भएको छ । दोस्रो हुने समूहले नगद ७ हजार र ट्रफी जितेको छ । 

प्रतियोगितामा आमोद बस्ती, सञ्जय घिमिरे कविता पौडेल र रोजेन्स्की पोखरेलको समूह तेस्रो भएको छ । तेस्रो हुने समूहले नगद ४ हजार र ट्रफी जितेको छ । प्रतियोगितामा उत्कृष्ट बहसकर्ता प्रतिष्ठा पोखरेल हुनु भएको छ । उहाँलाई नगद ४ हजार र ट्रफी प्रदान गरिएको छ । 

दोस्रो संस्करणको मुटकोर्ट प्रतियोगितामा २५ समूहमा एक सय विद्यार्थी सहभागी भएको विद्यार्थी नारायण चौलागाइँले जानकारी दिनुभयो । कलेजले गत वर्षदेखि मुटकोर्ट प्रतियोगिता शुरु भएको गरेको हो ।

मुटकोर्टमा विद्यार्थीको आकर्षण बढेको विद्यार्थी मनिष सिग्देलले बताउनुभयो । प्रतियोगितामा वीएएलएलवीको पाँचवटै सेमेस्टरका विद्यार्थीको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा विद्यार्थीले सुन चोरी तथा पैठारी, सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी काल्पनिक घटनालाई मुद्दाका रूपमा प्रस्तुत गरेका थिए । अदालतमा बहस गर्ने शैली, मुद्दाको तयारी, कानुनी आधार खोज्ने तथा आफ्नो पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीप विकास गर्न सहयोग पुग्ने विद्यार्थीहरूले बताएका छन् ।

विद्यार्थी प्रतीक्षा चालिसेले व्यावसायिक कानुनका जनशक्ति उत्पादन गर्ने कलेजका रुपमा ब्राइट भिजन स्थापित रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button