तपाईँ सुन्दै हुनुहुन्छः

जडीबुटीको प्रमुख ट्रान्जिट बन्दै नेपालगञ्ज, वार्षिक ८४ करोडभन्दा बढीको निर्यात

बाँके । बहुमूल्य जडीबुटीको सङ्कलन, भण्डारण, प्रशोधन तथा निर्यातका लागि नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लाबाट सङ्कलन हुने बहुमूल्य जडीबुटी नेपालगञ्ज हुँदै भारतलगायतका बजारमा निर्यात हुने गरेको छ।

यार्सागुम्बा, पाँचऔँले, जटामसी, कुट्की, तितेपाती, पदम चाल लगायतका जडीबुटी डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुला लगायतका जिल्लाबाट सङ्कलन गरी सडक तथा हवाई मार्ग हुँदै नेपालगञ्ज ल्याउने गरिएको छ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाबाट सङ्कलन हुने जडीबुटीको भण्डारण र निर्यातका लागि नेपालगञ्ज मुख्य केन्द्रका रूपमा स्थापित हुँदै गएको बताउनुभयो।

उहाँका अनुसार नेपालगञ्ज र आसपासका क्षेत्रमा जडीबुटी भण्डारणका लागि गोदाम तथा प्रशोधन केन्द्रसमेत सञ्चालनमा छन्। हिमाली तथा पहाडी जिल्लाबाट सङ्कलन गरिएका जडीबुटी नेपालगञ्ज ल्याएर वर्गीकरण, भण्डारण तथा आवश्यक प्रक्रियापछि भारततर्फ निर्यात गर्ने गरिएको छ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ मा नेपालगञ्ज नाकाबाट रु. ८४ करोड २६ लाख ७४ हजार बराबरको जडीबुटी निर्यात भएको छ। सो अवधिमा विभिन्न प्रकारका ३७ लाख ३ हजार ८ सय ६१ किलो जडीबुटी निर्यात भएको कार्यालयले जनाएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८१र८२ मा नेपालगञ्ज नाकाबाट रु. ८३ करोड ६४ लाख ७० हजार र आर्थिक वर्ष २०८०र८१ मा रु. ७९ करोड ४८ लाख ८२ हजार बराबरको जडीबुटी निर्यात भएको थियो। तथ्याङ्कले पछिल्ला वर्षमा नेपालगञ्ज नाकाबाट हुने जडीबुटीको कारोबार निरन्तर बढ्दै गएको देखाउँछ।

तर, जडीबुटीको निर्यात बढ्दै गए पनि यस क्षेत्रले अपेक्षित लाभ लिन नसकेको व्यवसायीहरूको गुनासो छ। अधिकांश जडीबुटी कच्चा पदार्थकै रूपमा निर्यात हुने भएकाले स्थानीयस्तरमा मूल्य अभिवृद्धि हुन नसकेको उनीहरूको भनाइ छ।

अध्यक्ष शर्माका अनुसार जडीबुटी निर्यातका क्रममा कानुनी प्रक्रिया तथा प्रमाणीकरणमा हुने ढिलाइ, आधुनिक प्रशोधन प्रविधि तथा परीक्षण प्रयोगशालाको अभाव र कच्चा पदार्थकै रूपमा निर्यात गर्नुपर्ने बाध्यता प्रमुख समस्या हुन्।

“भारत निर्यात गर्दा क्वारेन्टाइन तथा गैरभन्सार अवरोधसमेत बेलाबेलामा आउने गरेका छन्,” उहाँले भन्नुभयो, “यी समस्या समाधान गरी स्थानीयस्तरमै प्रशोधन र मूल्य अभिवृद्धि गर्न सके जडीबुटीको निर्यात अझै बढाउन सकिन्छ।”

जडीबुटीको कारोबार बढ्दै गएपछि पश्चिम नेपालका किसान, सङ्कलक तथा व्यवसायी उत्साहित भएका छन्। स्थानीयस्तरमै प्रशोधन उद्योग स्थापना गर्न सके जडीबुटीबाट रोजगारी सिर्जना हुनुका साथै किसान तथा सङ्कलकले समेत उत्पादनको उचित मूल्य पाउने व्यवसायीको अपेक्षा छ।

नेपालमा प्रशस्त सम्भावना रहेको जडीबुटी क्षेत्रलाई व्यवस्थित गर्न सङ्कलनदेखि प्रशोधन र निर्यातसम्मको स्पष्ट नीति, आधुनिक प्रविधि, परीक्षण प्रयोगशाला तथा सहज निर्यात प्रणाली आवश्यक रहेको व्यवसायीहरूले बताएका छन्। नेपालगन्जलाई जडीबुटीको सङ्कलन र निर्यातको ट्रान्जिट मात्र नभई प्रशोधन तथा मूल्य अभिवृद्धिको केन्द्रका रूपमा विकास गर्न सके यस क्षेत्रबाट मुलुकले थप आर्थिक लाभ लिन सक्ने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button