तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकलाई चियासँग जोडने लक्ष्यका साथ कन्याममा सुरु भयो कन्याम वृक्षालय

इलाम । पर्यटकीय क्षेत्र  इलामको सूर्योदय नगरपालिका वडा न ७  कन्याममा  पर्यटकलाई चियासँग जोडने लक्ष्यका साथ  उच्चस्तरीय सेवा सुविधासहितको कन्याम वृक्षालय होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ।

 कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लागत साझेदारीमा  करिब २३ करोडको लागतमा निर्माण भई पूर्ण रूपमा उपयोग हुन नसकेको चिया परीक्षण प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको चिया प्रयोगशाला बाहेकको संरचनालाई भाडामा लिएर वृक्षालय सञ्चालनमा ल्याइएको हो। 

 सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र मार्फत  गत २०८१ असार १८ गते उत्तम प्रगति निर्माण सेवाले १० वर्षका लागि उक्त संरचना करिब ३ करोड ४७ लाख बराबरमा भाडामा लिएको हो। 

सम्झौतामा प्राप्त ५ वटा भवनका अतिरिक्त  उत्तम प्रगति निर्माण सेवाले थप लगानी गरेर संरचना विस्तार गरिएको अध्यक्ष उत्तम कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

यस वृक्षालयको मुख्य उद्देश्य होटल सञ्चालन मात्र नभई कन्यामलाई कोशी प्रदेशकै नमुना आतिथ्यता केन्द्रका रूपमा विकास गर्नु रहेको र इलामको मुख्य पहिचान चिया भएकोले चिया बगान, उत्पादन र किसानको मिहेनतलाई पर्यटकको अनुभवसँग जोड्दै चिया पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । 

अमेरिका, युरोप लगायत भारत बिहार, बङ्गाल , भुटान, बङ्गलादेश तथा बर्माबाट समेत पर्यटक भित्र्याउने योजनाका साथ  पर्यटकको बसाइलाई इलाममै न्यूनतम  ५ दिन सम्म लम्ब्याउने  तथा  इलाममा उत्पादित चिया यही स्वाद लिएर आफूलाई मन परेको स्वादको चिया खरिद समेत गर्न पाउने लक्ष्य पनि राखिएको वृक्षालयका सञ्चालक तेजेन्द्र शर्माले बताउनु भयो ।

विश्व पर्यटन बजारमा लामो अनुभव सँगालेर नेपाल फर्किएका चारजना युवाहरूको सामूहिक लगानी तथा व्यवस्थापनमा यो वृक्षालय सञ्चालन गरिएको हो।

हाल यहाँ २५ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् ।

 पर्यटकलाई उत्कृष्ट अनुभव प्रदान गर्न वृक्षालयले तीनवटा स अर्थात् सरसफाई, सत्कार र स्वादलाई मूल मन्त्र मानेको छ। 

यसै भवनमा चिया परीक्षण केन्द्र र चिया सङ्ग्रहालय रहेको र त्यसको स्वामित्व तथा व्यवस्थापन भने कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाकै रहेको  छ। हाल नगरपालिकाले १ जना कर्मचारी व्यवस्थापन गरेको भए पनि हाल सम्म चिया प्रयोगशालाको लागि प्राविधिक व्यवस्थापन नहुँदा प्रयोगशाला सञ्चालनमा आएको छैन । यसको सञ्चालनको लागि प्रदेश सरकारसँग पनि समन्वय भइरहेको सूर्योदय नगरपालिकाले जनाएको छ । 

विगतमा चिया प्रयोगशाला अनुसन्धान केन्द्रमा होटल बनाइयो भन्ने गलत प्रचार भएको तर कन्याम वृक्षालयले राज्यलाई मासिक करिब ३ लाख राजश्व बुझाएर चिया प्रयोगशाला तथा अनुसन्धान केन्द्रलाई कुनै असर नपर्ने गरी आफूहरूले सुविधा सम्पन्न  गेष्ट हाउस सञ्चालन गरेको र यो केवल पैसाको लागि मात्र हैन इलामको पर्यटन प्रवर्द्धन चियाको बजारीकरणमा पनि ध्यान दिएको  कन्याम वृक्षालयका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

वृक्षालयका हाल काठमाडौँ, चितवन, लमजुङ, बाँके र इलाम गरी ४ वटा प्रदेशमा शाखाहरू रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button