बाजुरामा सुरु भयो सरकारी ‘कुरियर’ सेवा, अब घरमै पुग्नेछ राहदानी
बाजुरा। बाजुरामा सरकारी कागजात सेवाग्राहीको घरमै पुर्याउने उद्देश्यसहित सरकारी ‘कुरियर’ सेवा सुरु भएको छ।

सरकारी सेवा प्रवाहलाई सहज, छिटो र नागरिकमैत्री बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच बुधबार सम्झौता भएपछि बाजुरामा आजदेखि सरकारी कुरियर सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो। वर्तमान सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय दिने कार्यसूची’ अन्तर्गत परम्परागत हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएको करिब साढे चार महिनापछि बाजुरामा पनि सेवा सुरु भएको जिल्ला हुलाक कार्यालय बाजुराका प्रमुख उत्तम बमले जानकारी दिनुभयो।
सरकारी कुरियर सेवा सुरु भएपछि विशेषगरी राहदानी लिन सदरमुकाम मार्तडीसम्म धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। यसअघि राहदानी तयार भएपछि लिनका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो।
जिल्लाकै विकट क्षेत्र बिच्छ्या, मुक्तिकोटलगायत सदरमुकामभन्दा निकै टाढाका गाउँका नागरिकलाई कुरियर सेवा सञ्चालनले ठूलो राहत मिल्ने छ।भौगोलिक रूपमा विकट र यातायातको पहुँच कमजोर रहेको बाजुरामा सरकारी कागजात लिन सदरमुकामसम्म पुग्नु धेरै नागरिकका लागि समय र खर्च दुवैका हिसाबले चुनौतीपूर्ण हुँदै आएको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सरकारी कुरियर सेवामार्फत तत्काल मुख्य रूपमा राहदानी घरमै पुर्याउने व्यवस्था गरिएको छ । जसले विकट गाउँका नागरिकले राहदानी लिनकै लागि कष्टपूर्ण यात्रा र महँगो खर्च बेहोर्दै आएको बाध्यता हट्ने भएको छ।








प्रतिक्रिया राख्नुहोस्