तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती खोलामा ११ वर्षीया बालिकाको शव फेला

मकवानपुर । राप्ती खोलामा बगेर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोन मृत अवस्थामा फेला परेकी छन्।

शुक्रबार बिहान करिब ६ बजेदेखि इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोजी गर्ने क्रममा बिहान करिब ७ बजे उनको शव फेला परेको हो।

प्रहरीका अनुसार बगाएको स्थानदेखि करिब पाँच किलोमिटर तल पश्चिम–दक्षिणतर्फ मनहरी गाउँपालिका–३, लामिटारस्थित राप्ती खोलामा बालुवामा अल्झिएको अवस्थामा सुमित्राको शव फेला परेको थियो।

हेटौँडा उपमहानगरपालिका–१९, बस्तिपुर निवासी टिकाराम ब्लोनकी छोरी सुमित्रा तीन दिनदेखि राप्ती खोलामा बेपत्ता थिइन्।

यसअघि घटनामा परेकी ८ वर्षीया रोशनी स्याङतान घटनास्थलबाट करिब पाँच सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्। उनलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै, १२ वर्षीया बिनिता ब्लोनको शव पनि घटनाको भोलिपल्ट फेला परेको थियो।

घटनामा परेकी १३ वर्षीया सीमा ब्लोन भने आफैं खोलाबाट बाहिर निस्कन सफल भएकी थिइन्। उनको उपचार भइरहेको छ। चारै जना मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का रहेको जनाइएको छ।

सुमित्राको शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया तथा घटनास्थलको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक राजेश कुमार बर्तौलाको कमाण्डमा SOCO सहितको प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button