तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा कोशी प्रदेश सरकारमा सहभागी, पाँच मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनका लागि भएको तीन बुँदे सहमतिसँगै कोशी प्रदेश सरकारमा नेकपा सहभागी भएको छ । 

दुवै पार्टीबीच भएको सहमति बमोजिम आज नेकपा औपचारिक रूपमा प्रदेश सरकारमा सहभागी भएको हो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिमण्डल विस्तार एवं परिमार्जन गर्दै नवनियुक्त मन्त्रीहरूको कार्य विभाजन गर्नुभएको छ । 

नेकपाका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून, गीता तिम्सिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, नेकपाले सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिएको छ ।

नेकपाले सरकारमा चार वटा मन्त्रालयका लागि पाँच जनालाई सरकारमा पठाएको छ । नेकपाबाट नियुक्त भएका पाँच जनामध्ये तीन जना महिला रहेका छन् ।

कोशी प्रदेश सरकार विस्तारसँगै नेकपा एमालेबाट मन्त्री बनेका केही मन्त्रीको  जिम्मेवारीमा हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री रहनुभएका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको नयाँ जिम्मेवारी तोकिएको छ । 

त्यस्तै, उमाकान्त गौतमलाई आन्तरिक मामिला कानुन राज्य मन्त्रिबाट परिवर्तन गरी उहाँलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत् रहेको छ । नवनियुक्त मन्त्रीहरूलाई आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराउनुभयो । 

त्यस्तै राज्यमन्त्री सपना दर्जीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button