एसीसी प्रिमियर कप खेल्ने टोलीको बिदाइ
काठमाडौँ । आउँदो अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्ने टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमका बीच शुक्रबार बिदाइ गरेको हो । केही दिन भारतमा प्रशिक्षण गरेर टोली मलेसिया प्रस्थान गर्नेछ ।

प्रतियोगिताका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेका छन् । अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ । समूहको दोस्रो खेलमा सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ मा हङकङसँग खेल्नेछ ।
समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको शीर्ष तीन टोली सन् २०२७ मा बङ्गलादेशमा हुने एक दिवसीय एसिया कपमा छनोट हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्