तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभाको बैठक भदौ १ गतेका लागि आह्वान  

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आगामी भदौ १ गते सोमबारका लागि आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गतको १७औँ बैठक आह्वान गरेको हो ।

प्रदेश सभा सचिव रामकुमार पौडेलद्वारा जारी सूचना अनुसार भदौ १ गते दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्न लाग्नुभएको उहाँले बताउनुभयो । 

यसअघि आजै मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने सम्बन्धी पत्र प्रदेश सभामा पठाउनुभएको थियो । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखले बैठकको मिति र समय निर्धारण गर्नुभएको सचिवालयले जनाएको छ । 

नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा पर्नु भएको छ । १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । जसमा कांग्रेसको ३६, नेकपाको २६ र एमालेको २५ सिट छ । भने, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२ सिट, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सिट रहेको छ । यसअघि गत असार २० गते चालु आर्थिक वर्षको बजेट पारित गर्ने प्रयोजनका लागि बसेको प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button