तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा सीमानाकामा कडाइ, एक वर्षमा ७५ करोडको अवैध सामान बरामद

जनकपुरधाम । सशस्त्र प्रहरी बलले मधेश प्रदेशका आठवटै जिल्लाबाट भन्सार छली गरि ल्याएका ७५ करोड बराबरको अवैध सामानहरू नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बलका छिन्नमस्ता बाहिनी अन्तर्गत परिचालित सशस्त्र प्रहरीका विभिन्न जिल्लाका खटेका टोलीले आर्थिक वर्ष २०८२/८३ मा ७५ करोड २८ लाख ४५ हजार ४७६ रुपैयाँ २० पैसा बराबरका अवैध सामान बरामद गरेको जनाएको हो ।

बरामद सामग्री ती सामाग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकाय तथा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी महोत्तरी बर्दिबासले जनाएको छ । 

सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रवक्ता एसएसपी सुभाष भण्डारीले भारतबाट भन्सार छली गरि नेपाल भित्र्याइएका कपडा, किराना सामग्री, हार्डवेयर लगायत विभिन्न वस्तु बरामद गरेको जानकारी दिनु भएको छ । 

यसै गरि तेस्रो मुलुकबाट नेपाल हुँदै भारततर्फ चोरी लुकी लैजान खोजिएको ठूलो परिमाणको तरबुजाको बीउसमेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनु भयो । 

सीमा क्षेत्रमा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन पछिल्लो समयमा गस्ती, निगरानी र सूचना सङ्कलन प्रणालीलाई थप सक्रिय बनाइएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बर्दिबासले जनाएको छ । नेपाल–भारत सीमामा हुने अवैध ओसारपसार सँगै सीमापार आपराधिक गतिविधि माथि निगरानी बढाउने काम भएको छ । 

मधेश प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्ट मधेश प्रदेशको नेतृत्वमा आएपछि सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै अवैध गतिविधिविरुद्ध थप कडाइ गर्ने काम भएको छ । नियमित गस्तीका साथै विशेष अभियान सञ्चालन गरी तस्करी नियन्त्रणमा जोड दिइएको छ ।

सशस्त्र प्रहरीले तस्करी तथा अवैध गतिविधिमा संलग्न व्यक्तिसँग मिलेमतो गर्ने सुरक्षाकर्मी माथि समेत कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्रका डिआइजी भट्टले जानकारी दिनु भयो । आर्थिक प्रलोभनमा परी सङ्गठनको नीति र जिम्मेवारी विपरीत काम गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी पनि सशस्त्र प्रहरीका बाहिनीले दिएको छ ।

पछिल्लो समयमा नेपाल भारतको सीमा नाकामा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा गर्नुका साथै वारपार गर्ने हरेक व्यक्ति तथा संदिग्ध अन्य व्यक्तिसँग केरकार गर्ने काममा कडाइ गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button