तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लाको तिलगाउँमा आएको बाढीले तीन वटा पुल बगायो

सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँस्थित गुङन्छुसा खोलामा आएको बाढीले तीन वटा पुल बगाएको छ । 

स्थानीय बासिन्दाद्वारा श्रमदानबाट निर्माण गरिएका ती पुलहरू बुधबार आकस्मिक आएको लेदो सहितको बाढीले बगाएको हो । बाढीका कारण बस्ती जोखिममा परेपछि दुई जना वृद्ध नागरिकलाई कुनजुम गुम्बामा सारिएको स्थानीय दोर्जी लामाले जानकारी दिनु भयो । 

अचानक बाढी उर्लिएर पुलहरू बगाएपछि गाउँ पस्ने डरले स्थानीय बासिन्दा सशङ्कित भएर प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ जोखिममा परेका बस्तीको अवस्थाबारे अवलोकन गर्न सात जना प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख (डिएसपी) शङ्कर खड्काले जानकारी दिनु भयो । उहाँले तिलगाउँमा बाढीले कुनैपनि मानवीय क्षति नपुर्‍याएपनि तीन वटा पुल बगाएको बताउनु भयो । 

अहिले तिलगाउँमा स्थिति सामान्य बन्दै गइरहेको उहाँको भनाइ छ । बाढीको अवस्था बुझ्न तिलगाउँ पुगेको प्रहरी टोली क्षतिको मूल्याङ्कन गरिरहेको छ । तिलगाउँमा ३ जना बालबालिका र १९ जना महिलासहित २९ जना रहेका छन् । यसअघि २०८२ साल जेठ १ गते हिमताल भासिएर लेदो सहितको बाढीले क्षतविक्षत गरेको स्थानमा अहिले फेरि बाढीले क्षति पुर्‍याएको हो । 

यस वर्ष पनि सोही स्थानमा बाढी आएपछि हिमताल फुटेको हुन सक्ने स्थानीयले आशङ्का गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button