तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाबाट सञ्चालित आयोजनाहरूको प्रगति सन्तोषजनक : प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले  गत आर्थिक वर्षमा नेपाली सेनाबाट सञ्चालित आयोजनाहरूको प्रगति सन्तोषजनक रहेको बताउनुभएको छ । 

रक्षा मन्त्रालयको चौथो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तर विकास समस्या समाधान समितिको आज सिंहदरबारमा बसेको बैठकमा प्रधान सेनापति सिग्देलले  ४ वटा राष्ट्रिय गौरवका आयोजना, २ वटा प्राथमिकता प्राप्त आयोजना र अन्य आयोजना एवम् कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

उहाँले रणनीतिक महत्वका सडक तथा विकास आयोजनाहरूमा पर्याप्त बजेट व्यवस्था गरी नेपाली सेनाको क्षमता र उपकरणको पूर्ण उपयोग गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले गत आर्थिक वर्षमा रक्षा  मन्त्रालय र नेपाली सेना अन्तर्गत सञ्चालित अधिकांश आयोजना तथा कार्यक्रमहरूको प्रगति उल्लेखनीय रहेको बताउनुभयो ।

सचिव शर्माले काठमाडौँ–तराई÷मधेश द्रुतमार्ग सडक निर्माण आयोजनाको प्रगति अपेक्षाअनुरूप हुन नसकेकोमा लक्ष्य अनुसार प्रगति हासिल हुनेगरी निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिनुभयो ।

गत आर्थिक वर्षमा मन्त्रालय अन्तर्गत सञ्चालित विकास आयोजनाहरूमध्ये ७ वटाको शत प्रतिशत प्रगति हासिल भएको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेलले मन्त्रालय¸ राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेना अन्तर्गत गत आर्थिक वर्षको चौथो त्रैमासिक तथा वार्षिक अवधिमा सञ्चालित विभिन्न विकास आयोजना तथा कार्यक्रममा भएको प्रगति, आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा समस्या सम्बोधनका लागि चाल्नुपर्ने कदम लगायतका विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button