जबरजस्ती करणी तथा हत्या मुद्दाका फरार कैदी पक्राउ
रौतहट। जवरजस्ती करणीपछि बालिकाको हत्या गरेको अभियोगमा २० वर्ष कैद सजाय तोकिएका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–७ बगहीका ३० वर्षीय प्रभु माझीलाई शुक्रबार राति करिब साढे ११ बजे सोही स्थानबाट पक्राउ गरिएको हो ।
के थियो घटना?
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार माझी २०६८ फागुन २५ गते तत्कालीन बगही गाविस–६ (हाल कटहरिया नगरपालिका–७) स्थित वीरेन्द्र चौधरीको पोखरीको डिलमा एक पाँच वर्षीया बालिकामाथि जवरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजायको फैसला सदर भएको थियो । त्यसपछि उनी कारागार कार्यालय गौरमा कैद सजाय भुक्तान गरिरहेका थिए ।
माझी २०८२ भदौ २४ गते ‘जेन–जि आन्दोलन’का क्रममा कारागारबाट फरार भएका थिए । फरार भएपछि उनी लुकीछिपी बस्दै आएका थिए ।
बाँकी कैद भुक्तानका लागि कारागार पठाइँदै
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई कटहरिया नगरपालिका–७ बगहीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका माझीलाई बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय गौरमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्