तपाईँ सुन्दै हुनुहुन्छः

धानखेतको सानो पोखरीबाट वनेको रानीताल पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य

विराटनगर । धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–६ राजारानीमा स्थित रानी ताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ । धानखेतको सानो पोखरीबाट वनेको रानी ताल अहिले कोशी प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भएसँगै केही वर्षअघिसम्म सामान्य ग्रामीण भू–भागका रूपमा रहेको सो ठाउँ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। 

हरियालीले ढाकिएको १०३ रोपनीमा फैलिएको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जनका संरचनाले त्याहा पुग्ने जो–कोहीलाई  लोभ्याउने गरेको छ । 

धनकुटाको  भेडेटारवाट १९ किलोमिटर उत्तर पूर्वमा अवस्थित  राजारानीमा रहेको   ऐतिहासिक महत्व  बोकेको सो ताल नाम्जे, तथा डाडावजार भएर पुग्न सकिन्छ । भूतपूर्व सैनिक सहकारीबाट भ्रमणका लागि पहिलो पटक रानी ताल घुम्न आउनु भएका सुनसरी तरहराका गंगा विसिङ १२ महिना चिसो हुने सो ठाउँमा अवस्थित रानी तालले सबैको मन लोभ्याउने गरेको बताउँदै ताल परिसरमा शौचालय तथा खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै ताल घुम्न आउनु भएकी सुधारीकुमारी माझीले तालसम्म पुग्दा कतिपय बाटाहरू साँगुरो र खाल्डा खुल्डी हुँदा यात्रामा असहज भएको बताउँदै त्यस्ता बाटाहरूमा कालोपत्रे गर्नुपर्नेमा जोड दिनुभयो ।

पहिले ‘मावरक’ (देवीको पोखरी) नामले चिनिने क्षेत्र अहिले  आकर्षक रानी तालमा रूपान्तरण भएको हो । तालले ढाकेको प्राय सबै जग्गा निजी भएकाले त्यस्ता निजी जग्गामा सरकारले लगानी गर्न नमिल्ने भएपछि स्थानीयले ‘रानी ताल संरक्षण समिति’ गठन गरेर  ताल व्यवस्थापनको  काम अघि बढाएका थिए । 

ताल व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारबाट आवश्यक  सहयोग नभएको ताल  सञ्चालनको जिम्मा पाउनु भएका सुकराज चेमजोङको भनाई छ । शुक्रवार र शनिवार चारसय देखि पाचसय सम्म आन्तरिक तथा वाह्रय पर्यटक आउने सो ताललाई प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने हो भने ठुलो सङ्ख्यामा पर्यटक भित्राउन सकिने उहाँको भनाई छ । 

पछिल्ला तीन वर्षयता पूर्ण रूपमा ताल व्यवस्थापन र सौन्दर्यीकरणमै केन्द्रित भएसँगै अहिले ताल क्षेत्रमा बोटिङ, साइक्लिङ, ठूलो पिङ, आकर्षक फूलबारी र फोटो खिच्न मिल्ने संरचना निर्माण गरिएका छन्। जसका कारण त्याहा पुग्ने पर्यटकको संख्या लगातार बढिरहेको छ ।

 चैविसे गाउँपालिकाका रानी ताल सँगै राजा ताल ऐतिहासिक कुर्ले गडी, वोदे गडी, धप्पड ताल, १७ औ शताब्दीमा स्थापना भएको महादेवको मन्दिर, त्रिवेणी घाट, चारसय वर्ष पुरानो चेमजोङहरुको वंश घर लगायत दर्जनौँ पर्यटकीय स्थल छन् ।

 त्यस्ता पर्यटकीय स्थलको प्रचार प्रसार तथा पर्यटकीय गन्तव्य सम्म पुग्नका लागि पर्यटन पूर्वाधार निमार्णलाई जोड दिएको सो पालिकाका अध्यक्ष राजकुमार लिम्बुको भनाई छ । रवि–राके सडक निमार्णको क्रममा रहेको र उक्त सडक वनेपछि भेडेटारमा आउने प्राय सबै पर्यटक यस क्षेत्रको  पर्यटकीय स्थल घुम्न आउने पालिका अध्यक्ष लिम्बुको भनाई छ । 

रानी ताल अहिले पूर्वी नेपालका विभिन्न जिल्लाबाट घुम्न आउनेहरूको रोजाइ बन्न थालेको छ। सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुटा लगायत जिल्ला सँगै भारतको दार्जिलिङ, सिक्किम र बिहारबाटसमेत गर्मी छल्न पर्यटक त्याहा पुग्ने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button