तपाईँ सुन्दै हुनुहुन्छः

फुर्सदको समयमा लम्पट बुनेर अतिरिक्त आम्दानी गर्दै लामाबगरका महिला

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर–१ लामाबगरका महिलाहरूले  फुर्सदको समयमा लम्पट बुनेर अतिरिक्त आम्दानी गर्न थालेका छन् । 

उनीहरुलाई लम्पट बुन्न आवश्यक पर्ने मेसिन–औजार विगु गाउँपालिकाले उपलब्ध गराएको पालिका उपप्रमुख देविका थामीले बताउनुभयो । 

विगु गाउँपालिका वडा नम्बर–१ जगतकी आनन्दकुमारी श्रेष्ठ फुर्सदको समयमा उनबाट तयार गरिने लम्पट (गलैँचा) बुनेर महिनामा १०÷१५ हजारसम्म कमाई हुने बताउनुहुन्छ ।

विगु गाउँपालिकाको सहयोगमा वडा नम्बर–१ को लामाबगर र जगतका ६ जना महिलाहरू फुर्सदको समयमा लम्पट बुन्ने काममा लागेको आनन्द कुमारीले बताउनुभयो । “पालिकाले दुई पटक गरी १४ लाख रुपैयाँ सहयोग गरेको छ”, आनन्दकुमारीले भन्नुभयो– “त्यही रकमबाट महिलाको समूह बनाएर ६ वटा मेसिन–औजार र आवश्यक सामग्री खरिद तथा लम्पट बुन्ने तालिम लिएका हाँै ।”

साइज हेरेर एउटा लम्पट बुन्न एक हप्तासम्म लाग्ने र ती लम्पटहरू आठदेखि १५ हजारसम्ममा बिक्री गर्ने अर्को स्थानीय साम्लागी शेर्पाले बताउनुभयो । एउटा लम्पट बिक्री गर्दा झण्डै आधार नै फाइदा हुने उहाँले बताउनुभयो । 

विशेषगरी शेर्पा समुदायका मानिसले बढी प्रयोग गर्ने लम्पट बिक्रीको लागि बजारको समस्या नहुने आनन्दकुमारीको भनाई छ । लम्पट बुनिसक्दा नसक्दै घरमै खरिदको लागि मानिस आउने गरेको उहाँले बताउनुभयो । “यो गाउँघरमै बिक्री हुने गरेको छ”, आनन्दकुमारीले भन्नुभयो– “मानिसले खोजे अनुसार पुर्‍याउनै सकिएको छैन ।”

लामाबगरमा घर–घरै लम्पट बुन्ने गरिएको भए पनि जगतमा भने तीन जनाले मात्र यो काम गरेको साम्लागी बताउनुहुन्छ । “तालिम लिने त धेरै थियौँ तर काम गर्ने भने हामी तीन जना मात्र भयौँ”– साम्लागीले भन्नुभयो । लामाबगरमा पालिकाले सहयोग गरेको तीन जना र अन्य महिलाहरू आफैले मेसिन किनेर पनि घर–घरै लम्पट बुन्ने गरेको स्थानीय बताउँछन् ।

फुर्सदको समयमा तालिम लिएका सबै महिलाले लम्पट बुन्ने र यसलाई सदरमुकाम चरिकोट, काठमाडौँ तथा चीनको तिब्बतसम्म पुर्‍याउन सकिए मनग्य आम्दानी गर्न सकिने स्थानीयको भनाई छ । 

विगु गाउँपालिकाले लम्पट उत्पादनलाई प्राथमिकतामा राखेर वडा नम्बर–१ का महिलाहरूलाई तालिमसहित आवश्यक सहयोग गरेको र यसलाई आगामी दिनमा समेत निरन्तरता दिइने उपप्रमुख थामी बताउनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button