आगामी आ.व.मा निर्माण गर्नुपर्ने १६६ वटा विधेयकको सूची संघीय संसद्मा पठाइसकेका छौँ : मन्त्री गौतम

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले १ सय ६६ वटा विधेयकलाई प्राथमिकताका आधारमा सरकारले संसद्मा दर्ता गर्ने कानुनहरूको मस्यौदाको सूची र कार्यतालिका संघीय संसद्मा पठाइसकेको जानकारी गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी कानुन मन्त्री गौतमले आर्थिक वर्ष २०८३/०८४ का लागि सङ्घीय संसद्मा पेस गरिने ९७ वटा नयाँ र ६९ वटा संशोधन गर्ने विधेयकको संख्या कायम गरिएको जानकारी गराउनुभयो ।
उहाँले प्रचलित कानुनको सुधार तथा थप नयाँ कानुन निर्माणलाई प्रभावकारी रुपमा अगाडी बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनुपर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आगामी आर्थिक वर्षलाई कानुन निर्माण तथा सुधारमा वर्षका रुपमा घोषणा गरेको बताउनुभयो ।
मन्त्री गौतमले प्रचलित कानुनहरूको सुधार तथा पुनारावलोकनका लागि उच्चस्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी भइरहेको जानकारी बैठकमा गराउनुभयो ।
मन्त्री गौतमले संघीय संसद्मा पठाइएका सूची अनुसार विधेयकहरू तर्जुमाको अवस्था एकीन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको जानकारी गराउनुभयो ।
कानून मन्त्री गौतमले संघीय संसद्मा विधेयक निर्माण, छलफल र पारित गर्ने प्रक्रियालाई व्यवस्थित तथा अनुमान योग्य बनाई विधायिकी काम कारबाही नियमित, सुचारु र समयमा नै सम्पन्न गर्न सभामुख, संसदीय समितिका सभापति र संघीय संसद् सचिवालयलाई समेत आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्