तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले देशमा पछिल्लो समय देखिएका समस्या,आत्मदाहका घटना, सुकुम्वासी व्यवस्थापन, किसानका समस्या समाधानलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सभाको आजको बैठकमा सांसदहरुले सुकुम्वासीको उचित व्यवस्थापनबिना बस्तीबाट हटाउँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै उनीहरूको बासस्थान, होल्डिङ सेन्टरमा रहेको खाना, पानी, शिक्षा, स्वास्थ्यको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधि केन्द्रित बनेको आरोप लगाउँदै यस्ता गतिविधिले देश नबन्ने र दुर्घटनातर्फ जाने भन्दै समयमा नै सच्चिन र सबैलाई विश्वासमा लिएर देशलाई समृद्धिको बाटोमा अगाडी बढाउनुपर्ने बताउनुभयो ।

सांसदहरुले अविरल वर्षासँगै देशभर बाढी पहिरो र डुबानको समस्या बढेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विपद्मा परेका नागरिकहरूलाई उद्धार र राहतका लागि प्रभावकारी व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसदहरुले मेची राजमार्ग लगायतका सडक खण्डहरू जोखिमयुक्त बनेको तथा इलामका धेरै बस्तीहरू विपद्को जोखिमा रहेको भन्दै समयमा नै जोखिमको न्यनिकरण र आम नागरिकको जीवन रक्षाका लागि काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले अस्थायी, करार र ज्यालादारी कर्मचारी रोजगारीको सुरक्षा माग गर्दै सिंहदरबारमा आन्दोलनरत रहेको भन्दै करिब ५० हजारभन्दा बढी कर्मचारीलाई बेरोजगार बनाउने काम नगर्न र समस्या समाधान गर्न माग गर्नुभयो । 

वीर अस्पताल, गङ्गालाल अस्पताल र टिचिङ अस्पतालमा मेडिकल माफियाका कारण औषधी खरिदमा समस्या उत्पन्न भइरहेको भन्दै सांसदहरुले सेटिङका आधारमा फस्टाएको लुटतन्त्र रोक्न औषधीको टेन्डर प्रक्रिया सुधार गर्न माग गर्नुभयो ।

सांसदहरुले पछिल्लो समयमा मानसिक समस्यालगायतका कारण देशमा आत्महत्या, आत्मदाह जस्ता घटना बढेको भन्दै मानसिक स्वास्थ्य सम्बन्धी नीतिमा परिमार्जन र नयाँ नीति ल्याउन आवश्यक रहेको औँल्याउँदै एक सशक्त मानसिक स्वास्थ्य परिषद गठन गर्न माग समेत गर्नुभयो ।

यसैबीच, प्रतिपक्षी दलका सांसदहरुले आज पनि प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा नेपालले मिचेको भनेर दिएको गलत अभिव्यक्ति र प्रतिपक्षीले उठेका प्रश्नको जवाफ नदिएसम्म संसदमा विपक्षीको विरोध कायम रहने बताउनुभयो ।

उहाँहरूले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई देशमा उत्पन्न परिस्थिति र सांसदहरुले उठाएका प्रश्नको उत्तर दिन रुलिङ गर्न सभामुखलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button