बाँकेका ११ हजार बढी बालबालिकालाई पूर्ण खोप
नेपालगञ्ज। बाँकेमा ११ हजार बढी बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठ वटै स्थानीय तहका ११ हजार ५६४ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको हो ।

१६ देखि २३ महिनासम्मका ११ हजार ५६४ जना बालबालिकाको खोप अवस्था यकिन गरेर उनीहरूलाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी देवनारायण उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार घरधुरी सर्वेक्षणका क्रममा बाँकेमा १६ देखि २३ महिनासम्मका ११ हजार ५६४ जना बालबालिकाको खोप अवस्था यकिन गरिएको थियो । तीमध्ये १० हजार ७९९ जना अर्थात् ९४ प्रतिशत बालबालिकाले सबै आवश्यक खोपको मात्रा प्राप्त गरेको पाइएको थियो । बाँकी ७६५ जना बालबालिकामध्ये १८ जना शून्य डोज र ७४७ जना ड्रपआउट बालबालिका पहिचान भएका थिए ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बालबालिकाहरूलाई क्षयरोग, रोटा भाइरस, पोलियो, निमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला, टाइफाइड तथा एचपिभी लगायतका १४ वटा सरुवा रोगविरुद्ध निःशुल्क खोप प्रदान गरिँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्