तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्वासी तथा भूमि व्यवस्थापनका लागि हालसम्म भएका कामबारे जानकारी गराउन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि हालसम्म भएका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा भइरहेको कामकारबाहीको विस्तृत लिखित विवरण उपलब्ध गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय’ र ’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय’ लाई पत्राचार गरी माग गर्ने निर्णय गरेको सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो ।

बैठकले सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सम्बन्धी समितिले गत जेठ ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई दिएको निर्देशनात्मक सुझावहरूको कार्यान्वयनको अवस्थाबारे लिखित जानकारी माग गर्ने निर्णय गरेको पनि सभापति बास्कोटाले बताउनुभयो ।

बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनमाथि सुझाव दिन र ऐन, कानुनमा भएका व्यवस्था र थप गर्नुपर्ने विषयमा समेत सुझाव ल्याउन सभापति बास्कोटाले सांसदहरूलाई आग्रह गर्नुभयो ।

छलफलमा सांसदहरुले व्यवस्थापनको तयारी नगरी बस्तीबाट सुकुम्वासी हटाउँदा समस्या उत्पन्न भएकाले व्यवस्थापनको काम छिटो गर्नुपर्ने, सुकुम्वासी राखिएको  होल्डिङ सेन्टर डुबानमा परेको तथा खाना, पानी तथा स्वास्थ्य लगायतको समस्या देखिएको भन्दै समाधानका लागि छिटो पहल हुनुपर्ने बताउनुभयो ।

सांसदहरुले केही दिनयता देशमा देखिएका आत्मदहजस्ता घटना हुन नदिन समयमा नै आम नागरिकको जीविकोपार्जनलगायतका समस्या समाधानमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button