राष्ट्रियसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८३ सर्वसम्मतिले पारित भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक २०८३ पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी राख्नुभएको प्रस्ताव दफावार छलफलपछि सभाले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा सांसदले विधेयकको दफावार छलफलमा उठाउनुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले निर्वाचित सरकारका मन्त्रीहरूका सल्लाहाकार र सचिवालय विस्तार राज्यलाई भार नपर्ने गरी गरिएको स्पष्ट पार्नुभयो ।
सरकारका मन्त्रीहरूले विज्ञहरूलाई अवैतानिक सल्लाहाकार मात्रै राखेको भन्दै अर्थमन्त्री वाग्लेले पहिलाका सरकारको भन्दा बढी हुने गरी मन्त्रीका सचिवालय विस्तार नगरेको बताउनुभयो ।
विधेयकको दफावार छलफलमा भाग लिँदै सांसदहरु सोमनाथ पोर्तेल, सम्झना देवकोटा, रुक्मिनी कोइराला र मिनासिंह रखाललगायतले सरकारले ऋण उठाउनु मात्रै ठूलो कुरा नभइ उठाइएको ऋण पारदर्शी र खर्चको सुनिश्चिता हुनुपर्ने बताउनुभयो ।
परिणाम नदिने कार्यक्रममा ऋण खर्च गर्ने प्रवृत्ति सामान्य नभएको भन्दै सांसदहरुले ऋणको लगानी सरकारले स्पष्ट देखाउनुपर्नेमा जोड दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्