राष्ट्रिय सभा बैठक: प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८३ माथि दफावार छलफल

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८३ माथि दफावार छलफल जारी छ ।
छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले समावेशी विकासलाई प्राथमिकता दिनुपर्ने, प्रगतिशील कर प्रणाली अवलम्बन गर्नुपर्ने, निजी क्षेत्रसँगको सहकार्यलाई ध्यान दिई लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सामाजिक न्यायको पक्षमा प्रत्यक्ष प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम तथा गर्नुपर्ने भन्दै उहाँले हरित अर्थतन्त्र र वातावरणमैत्री कर नीति लागु गर्नुपर्ने सुझाब दिनुभयो ।
यस अघि बैठकको शून्य समयमा सांसदहरुले बिचल्लीमा परेका सुकुम्बासीहरुलाई तत्काल व्यवस्थापन गर्नुपर्ने, साधुका रुपमा नेपाल भित्रिएका भारतीयहरूले बालबालिका अपहरण र हत्याजस्ता अपराध गर्ने गरेकाले त्यसको छानविन गर्नुपर्ने र मिटर व्याज पीडितहरूको समस्या तत्काल समाधान गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि दफावार छलफल गरी पारित गर्नेलगायतका कार्यसूची रहेको छ ।
बैठकमा आर्थिक विधेयक २०८३ माथि दफावार छलफल जारी छ ।







प्रतिक्रिया राख्नुहोस्