तपाईँ सुन्दै हुनुहुन्छः

सिक्टा सिँचाइ आयोजनाको सय दिनमा १३ किलोमिटर नहर निर्माण, २५ हजार हेक्टरमा सिँचाइ पहुँच

बाँके। सरकारको ‘सय दिन–सय कार्य’ कार्यक्रमअन्तर्गत राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले बाँकेमा उल्लेखनीय प्रगति हासिल गरेको छ। आयोजनाले पछिल्लो सय दिनमा करिब १३ किलोमिटर शाखा तथा प्रशाखा नहर निर्माण गर्नुका साथै एक हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिनमा पहिलो पटक सतही सिँचाइ सुविधा विस्तार गरेको जनाएको छ।

आयोजना प्रमुख राजु आचार्यले सय दिनको अवधिमा सिँचाइ पूर्वाधार विस्तारसँगै किसानसम्म पानी पुर्‍याउने कार्यलाई तीव्रता दिइएको बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा मात्रै थप करिब दुई हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। “गत आर्थिक वर्षसम्म आयोजनाको सिँचाइ पहुँच २२ हजार पाँच सय हेक्टरमा पुगेको थियो। यस वर्ष थप दुई हजार पाँच सय हेक्टरमा सुविधा विस्तार भएसँगै सिँचाइ पहुँच २५ हजार हेक्टर पुगेको छ,” उनले भने।

भौतिक पूर्वाधार निर्माणसँगै आयोजनाले सेवा प्रवाहलाई पनि प्रविधिमैत्री बनाएको छ। कार्यालयले नागरिक बडापत्रलाई डिजिटल प्रणालीमा रूपान्तरण गरेको, उजुरी तथा गुनासो व्यवस्थापनका लागि क्यूआर कोड लागू गरेको, ई–हाजिरी प्रणाली सञ्चालनमा ल्याएको, प्रयोगशालाको क्षमता अभिवृद्धि गरेको तथा ‘पेन्डिङ फाइल शून्य’ नीति कार्यान्वयनमा ल्याएको जनाएको छ।

बाँके जिल्लाको करिब ४३ हजार हेक्टर कृषियोग्य जमिनमा वर्षभरि सतही सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसहित निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले हालसम्म २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिसकेको छ। आयोजनाको प्रगतिसँगै बाँकेका किसानले कृषि उत्पादन वृद्धि र उत्पादन लागत घटाउन प्रत्यक्ष लाभ लिन थालेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button