स्रोतअनुसार अधिकतम बजेट शिक्षा क्षेत्रमा, डिजिटल शिक्षामा जोड
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले स्रोतका आधारमा अधिकतम बजेट शिक्षा तथा खेलकुद क्षेत्रका लागि छुट्टाएको बताउनुभएको छ ।
प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्न लागिएको र शिक्षकको क्षमता वृद्धिमा समेत रकम विनियोजन गरिएको बताउनुभयो ।
शिक्षा मन्त्री पोखरेलले बजेट कम भएकै कारण शिक्षा क्षेत्रको सुधार नरोकिने तथा विद्यालय शिक्षा सुधार गर्न बजेटले मात्रै काम नगर्ने भन्दै शिक्षकको तालिम, तलब चालु खर्चमा जाने भएकोले पुँजीगत विनियोजन कम भएको स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले सबै माध्यमिक विद्यालय स्मार्ट बोर्ड जडान गर्ने भन्दै सरकारले शिक्षामा उच्च प्राथमिकता दिएको भन्दै विद्यालय शिक्षा स्थानीय सरकारको जिम्मेवारी भएकोले स्थानीय सरकारले पनि उल्लेख्य लगानी गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यालय शिक्षाको राष्ट्रिय प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य अगाडी बढाइसकेको बताउनुभयो ।
मन्त्री पोखरेलले करिब ३ प्रतिशत बालबालिका अहिले पनि आधारभूत विद्यालय शिक्षा बाहिर रहेको र लक्षित कार्यक्रमबाट पनि विद्यालयमा ल्याउन नसकिएकाले आगामी वर्षमा त्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गरि लक्षित कार्यक्रम तय गर्न मन्त्रालयले कार्यायोजना तयार गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्