पूर्वाधार विकास समिति बैठक : सडक समस्याबारे छलफल
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ ।

बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सडक सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले बढ्दो सवारी चाप व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकको छलफलमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्लेले ट्राफिक नियम उल्लङ्घनका घटना दिनप्रतिदिन बढेकाले विद्यालय तहको पाठ्यक्रममै ट्राफिक नियम र सडक सुरक्षाको विषय समावेश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौलाले सरकारले सार्वजनिक यातायातको लगानी सुनिश्चित गर्नुपर्ने, सडकको अवस्थाअनुसार सवारी साधन चल्ने व्यवस्था गर्नुपर्ने र देशैभर सार्वजनिक सवारी साधनको पार्किङका लागि आवश्यक स्थान तोक्नुपर्ने बताउनुभयो ।
समितिका सभापति आशिष गजुरेलले नेपालको अस्तव्यस्त यातायात क्षेत्रको सुधारका लागि नीतिगत सुधार आवश्यक भएको भन्दै समितिले सडक सुरक्षाका सम्बन्धमा आगामी दिनहरूमा सरोकारवालाहरूसँग थप छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिने पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्