तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाबाट विनियोजन र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले दुई वटा विधेयकहरू विनियोजन विधेयक २०८३ र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक २०८३ माथिको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विनियोजन विधेयक २०८३ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक २०८३ माथि विचार गरियोस् भनि प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो । 

विनियोजन विधेयक माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले पूँजीगत खर्च तीव्र रुपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो ।

अर्थमन्त्री डा. वाग्लेले चालु खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पुँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो ।

अर्थमन्त्री डा. वाग्लेले विनियोजित बजेट शिक्षा स्वास्थ्यका विषयमा सङ्घमा कम खर्च हुने र खर्बौँ रकम बराबरको विनियोजन तल्ला तहमा जाने बताउनुभयो । 

मन्त्री डा. वाग्लेले तलब सुविधा, ऋण साँवा व्याज तथा सामाजिक सुरक्षा भत्ता लगायतका विषयको भुक्तानी गरेर अनिवार्य दायित्व झण्डै १४ खर्ब जतिको रहेको र यो खर्च चालु खर्चमा नै देखिने जानकारी गराउनुभयो ।

छलफलमा सांसदहरुले चालु खर्च र पूँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायमा हुन नसकेको, चालु खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो । 

सांसदहरुले स्थानीय तहको स्रोत र अनुदान घटाएको, संघ सरकारले प्राथमिकतामा राख्नुपर्ने  विषयमा समेत प्राथमिकता दिन नसेको, रोजगारी सिर्जना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो ।

सांसदहरुले शिक्षा र स्वास्थ्यमा पर्याप्त रकम विनियोजन हुन नसकेको, देशमा दिगो विकास गर्ने तथा रोजगारी सिर्जना गर्नेगरी भन्दा पनि ऋण बढाउने तर्फ बजेट केन्द्रित रहेको तथा बजेटको ठूलो हिंसा तलब भत्ता र अन्यमा खर्च हुनेगरी आएको बताउनुभयो । 

बैठकमा सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक २०८३ को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरू माथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार १ गतेदेखि ४ गतेसम्मको समय तोक्नुभएको छ ।

सभामुख अर्यालले विनियोजन विधेयकमा विभिन्न शीर्षकहरूको छलफलमा भाग लिन सम्बन्धित विनियोजित शीर्षकहरूमाथि छलफल हुने दिन बैठक बस्नुभन्दा एक घण्टा अगाडी दलीय प्रतिनिधित्वका आधारमा कार्यव्यवस्था शाखामा नाम टिपाउन सांसदहरूलाई आग्रह गर्नुभयो ।

उहाँले विनियोजन विधेयक २०८३ का विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि खर्च कटौतीको सूचना दिन चाहने सांसदहरुले यही जेठ ३१ गते दिउँसो ४ बजे भित्र प्रतिनिधिसभाको विधेयक शाखामा दिन सक्ने जानकारी गराउनुभयो ।

यसैबीच, बैठकमा अर्थमन्त्री डा.वाग्लेले विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिइसकेपछि नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुखसँग समय माग गरी नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी समस्या सिर्जना गरेको विषयमा ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा छिरेर गस्ती गरेर आतङ्क सिर्जना गरेपछि स्थानीयले त्यसको प्रतिकार गरेर लखेटेको बताउनुभयो । 

प्रमुख सचेतक महरले नेपालको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको समस्याका विषयमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि भारतीय पक्षबाट समस्या सिर्जना भइरहेको बताउनुभयो ।

बैठकमा सांसद बदनकुमार भण्डारीले सभामुखसम्म समय लिएर काभ्रेपालञ्चोककोे बनेपाबाट महाभारत जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको र १५ जना घाइते भएको विषयमा सदनमा जानकारी गराउनुभयो ।

सांसद भण्डारीले ठूला सवारी साधन प्रवेशमा रोक लगाएको सडकमा दुर्घटना भएको भन्दै यस्ता सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७, नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटेकल नम्बर २९ पेश गर्नुभयो ।  

प्रतिनिधि सभाको अर्को बैठक असार १ गते सोमबार बिहान ११ः०० बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button