मधेस प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस
जनकपुरधाम। मुस्लिम आयोगले आफ्नो सातौँ वार्षिक प्रतिवेदन मधेस प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्ण समक्ष पेस गरेको छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार आयोगका कार्यवाहक अध्यक्ष महमदीन अलीले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन भएका क्रियाकलाप समेटिएको उक्त प्रतिवेदन प्रमुख डा. कर्णलाई बुझाउनुभएको हो।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम तयार पारिएको सो प्रतिवेदनमा गत आर्थिक वर्षभरि आयोगले गरेका गतिविधि, सञ्चालित कार्यक्रम तथा हासिल भएका उपलब्धिहरू समावेश छन्।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख डा. कर्णले मुस्लिम समुदायको हक, हित र अधिकार संरक्षणका लागि आयोगले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले प्रतिवेदनमा उठाइएका विषयवस्तुले आगामी दिनमा नीति निर्माण तथा कार्यान्वयनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो।
मुस्लिम आयोगले यस समुदायभित्र रहेका समस्या, चुनौती तथा समाधानका उपायबारे अध्ययन-अनुसन्धान गर्नुका साथै सरोकारवाला निकायहरूसँगको समन्वयमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजिव कुमार दुब्बेले संवैधानिक व्यवस्थाअनुसार मुस्लिम आयोगले औपचारिक रूपमा प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाएको जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्