प्रतिनिधि सभा बैठक: विनियोजन विधेयक २०८३ सर्वसम्मतिले स्वीकृत
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक २०८३ माथिको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विचार गरियोस् भनि प्रस्तुत गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफलपछि सभाले स्वीकृत गरेको हो ।
छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले यसपटक पूँजीगत खर्च तीव्र रुपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो ।
अर्थमन्त्री डा. वाग्लेले चालु खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पुँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो ।
अर्थमन्त्री डा. वाग्लेले विनियोजित बजेट शिक्षा स्वास्थ्यका विषयमा सङ्घमा खर्च कम खर्च हुने र खर्बौँ रकम बराबरको विनियोजन तल्ला तहमा जाने बताउनुभयो ।
अर्थमन्त्री डा. वाग्लेले तलब सुविधा, ऋण साँवा, व्याज तथा सामाजिक सुरक्षा भत्ता लगायतका विषयको भुक्तानी गरेर अनिवार्य दायित्व झण्डै १४ खर्व जतिको रहेको र यो खर्च चालु खर्चमा नै देखिने जानकारी गराउनुभयो ।
छलफलमा सांसदहरुले चालु खर्च र पूँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायमा हुन नसकेको,चालु खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो ।
सांसदहरुले स्थानीय तहको स्रोत र अनुदान घटाएको, संघ सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्राथमिकता दिन नसेको, रोजगारी सिर्जना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो ।
सांसदहरुले शिक्षा र स्वास्थ्यमा पर्याप्त रकम विनियोजन हुन नसकेको, देशमा दिगो विकास गर्ने तथा रोजगारी सिर्जना गर्नेगरी भन्दा पनि ऋण बढाउने तर्फ बजेट केन्द्रित रहेको तथा बजेटको ठूलो हिंसा तलब भत्ता र अन्यमा खर्च हुनेगरी आएको बताउनुभयो ।

सांसदहरुले पाँच खर्ब जति बजेट जम्मा बजेटको झण्डै २० प्रतिशत रकम विभिन्न शीर्षकमा राखिएको भन्दै यति धेरै रकम कहाँ कहाँ खर्च गर्ने हो प्रष्ट पार्नुपर्ने बताउनुभयो ।
सांसदहरुले, शिक्षा, पर्यटन, कृषिमा बजेट बढ्न नसकेको, पूँजीगत खर्च नहुने मुल समस्या समाधान र खर्च बढाउने विषय बजेट वक्तव्यमा समेत नआएको बताउनुभयो ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक २०८३ को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरू माथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार १ गतेदेखि ४ गतेसम्मको समय तोक्नुभएको छ ।
सभामुख अर्यालले विनियोजन विधेयकमा विभिन्न शीर्षकहरूको छलफलमा भाग लिन सम्बन्धित विनियोजित शीर्षकहरूमाथि छलफल हुने दिन बैठक बस्नुभन्दा एक घण्टा अगाडी दलीय प्रतिनिधित्वका आधारमा कार्यव्यवस्था शाखामा नाम टिपाउन आग्रह गर्नुभयो ।
विनियोजन विधेयक २०८३ का विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि खर्च कटौतीको सूचना दिन यही जेठ ३१ गते दिउँसो ४ बजे भित्र प्रतिनिधि सभाको विधेयक शाखामा दिन सक्ने जानकारी गराउनुभयो ।
यसैबीच, बैठकमा अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिइसकेपछि नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुखसँग समय माग गरी नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी समस्या सिर्जना गरेको विषयमा ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा छिरेर गस्ती गरेर आतङ्क सिर्जना गरेपछि स्थानीयले त्यसको प्रतिकार गरेर लखेटेको बताउनुभयो ।
प्रमुख सचेतक महरले नेपालको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको समस्याका विषयमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि भारतीय पक्षबाट समस्या सिर्जना भइरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्