तपाईँ सुन्दै हुनुहुन्छः

षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर। भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिव १ हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो ।

हालसम्म यहाँका करिव १ एक हजार ५०० परिवार मध्ये १ एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन बिक्रम राईले बताउनुभयो । बाँकी रहेका घरमा पनि क्रमशः पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।“लोमा खोला आयोजनामार्फत १२ सय परिवारमा धारा जडान सम्पन्न गरेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“बाँकी रहेका घरमा पनि क्रमशः वितरण गर्ने लक्ष्य छ ।”
पानी शुद्धिकरण पर्ने प्रविधि जडान नगरिएकाले पानी वितरणमा केहि समस्या भएको उहाँको भनाइ छ । मुहानमा पानी प्रशोधन संरचना नरहेकाले वर्षातको समयमा वालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको अध्यक्ष राईले बताउनुभयो ।

वस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखीको पानीको समस्या हटेको स्थानीयबासी छत्रमाया कार्कीले बताउनुभयो । लोमा खोलाको पानी घरमा आएपछि दैनिक काममा सहजता भएको उहाँको भनाइ छ ।“घरमा धारा जडान भएपछि सहजता छ”उहाँले भन्नुभयो,“ एक गाग्री पानीको जोह गर्न दुई–चार घण्टा लाग्थ्यो । अहिले आगनको डिलमा धारा छ । पानीको कुनै चिन्ता छैन ।”
बस्तीमा लोमा खोलाको पानी आएपछि दैनिकी नै फेरिएको स्थानीयबासी तिलबहादुर श्रेष्ठले बताउनुभयो । पानी आएपछि गाईभैंसी खुवाउनदेखी दैनिक सरसफाईमा सहजता भएको उहाँले बताउनुभयो ।

यो आयोजनाले षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका करिव १ हजार ५०० परिवारलाई राहत पुग्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । आयोजनालाई चाडो सम्पन्न गराउन नगरले सम्बन्धित निकायमा बजेट मागसँगै आवश्यक सहजीकरण गरिरहेको उहाँको भनाइ । “यो षडानन्द नगरपालिकामा सञ्चालनमा रहेको ठूलो योजना हो”उहाँले भन्नुभयो,“यो आयोजनाबाट धेरै घर परिवारमा सुद्ध पिउने पानी पुग्दैछ । समयमा सम्पन्न गराउन हामीले पनि आवश्यक भूमिका खेलिरहेका छौँ ।”

यो आयोजना निर्माणको काम दुई स्किममा सञ्चालन भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिव ८० प्रतिशत रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका इन्जिनियर दीपक यादवले जानकारी दिनुभयो । श्रमदानसहित यो आयोजनाको अनुमानित कुल लागत रु. २६ करोड ८२ लाख ३० हजार ८३५ रहेको कार्यालयले जनाएको छ ।
“लोमा खोला खानेपानी आयोजनाको करिव ८० प्रतिशत काम सम्पन्न भएको छ”उहाँलेले भन्नुभयो“ कामलाई तीव्र रुपमा अघि बढाएका छौँ । अब करिव २८५ घरधुरीमा पानी वितरण र सुद्धिकरण संयन्त्र बनाउन बाँकी रहेको अवस्था छ ।”

चालु आर्थिक वर्षमा ३ वटा ट्याङ्की, ४ वटा डीपीटी र ३ वटा वितरण च्याम्बर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै २ हजार १ सय मिटर मुख्य पाएप लाइन र ३७ हजार मिटर वितरण लाइन विस्तार गरिएको कार्यालयले जनाएको छ ।
दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिव ४७ किलोमिटर र वितरण लाईन करिव एक सय ५३ किलोमिटर रहेको कार्यालयले जनाएको छ । यो आयोजनाको काम आर्थिक वर्ष २०७५÷७६ बाट थालनी भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button